
समीक्षा श्रेष्ठले मिस फरेन वर्ल्ड नेपाल २०२६ को ताज पहिरिएकी छन्। नेपालमै आयोजना हुने मिस फरेन वर्ल्ड २०२६ मा उनले आधिकारिक रूपमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
नयाँ जिम्मेवारीसँगै समीक्षाको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको यात्रा सुरु भएको छ। प्रतियोगिताका क्रममा उनले नेपालको संस्कृति, पर्यटन, आतिथ्य र नेपाली महिलाका उपलब्धिलाई विश्वमञ्चमा प्रस्तुत गर्नेछिन्।
सामुदायिक नर्स तथा उदीयमान सामाजिक उद्यमी समीक्षा स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व र सौन्दर्य प्रतियोगिताको अनुभव भएकी प्रतिभा हुन्। नर्सिङमा डिप्लोमा गरेकी उनले समुदायस्तरको स्वास्थ्य सेवामा योगदान दिँदै सौन्दर्य प्रतियोगितामा पनि आफ्नो पहिचान बनाएकी छन्।

उनले सन् २०१८ मा दक्ष इन्टरनेसनलले आयोजना गरेको मिस एन्ड मिसेस ब्युटिफुल नेपालमा सहभागिता जनाएकी थिइन्। उक्त प्रतियोगितामा उनले मिस ट्यालेन्ट र बेस्ट हेयर अवार्ड जितेकी थिइन्।
त्यसपछि समीक्षा मिस स्कुबा इन्टरनेसनल २०२५ मा नेपालको आधिकारिक प्रतिनिधिका रूपमा सहभागी भएकी थिइन्। उक्त अन्तर्राष्ट्रिय सहभागिताले सौन्दर्य प्रतियोगितामा उनको अनुभव र आत्मविश्वासलाई थप बलियो बनाएको थियो।
मिस फरेन वर्ल्ड नेपाल २०२६ का रूपमा उनले प्रतियोगिताभर नेपालको सद्भावना दूतको भूमिका निर्वाह गर्नेछिन्। उनले नेपालको समृद्ध सांस्कृतिक सम्पदा, पर्यटन सम्भावना, न्यानो आतिथ्य र नेपाली महिलाको क्षमता तथा उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने अपेक्षा गरिएको छ।

मिस फरेन वर्ल्ड २०२६ आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ४ सम्म नेपालमा आयोजना हुने तय भएको छ। प्रतियोगितामा विभिन्न देशका प्रतिनिधिहरू सहभागी हुनेछन्।
कार्यक्रमले सांस्कृतिक विविधता, अन्तर्राष्ट्रिय मित्रता, महिला सशक्तीकरण र विश्व एकताको सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ। यसले नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता र सांस्कृतिक आदानप्रदानको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्न पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
मिस फरेन वर्ल्ड अर्गनाइजेसन र आरके इन्टरटेनमेन्ट ग्रुपले समीक्षालाई बधाई दिँदै उनले नेपाललाई गर्व र सम्मानका साथ प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरेका छन्। दुवै संस्थाले उनको सफल कार्यकाल र प्रेरणादायी अन्तर्राष्ट्रिय यात्राका लागि शुभकामना पनि दिएका छन्।

