
नयाँ वर्षको अवसर पारेर अभिनेता जितु नेपाल अभिनित फिल्म ‘कार्की साइँला’को फस्ट लुक्स सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरले फिल्मको कथा र परिवेशबारे उत्सुकता बढाएको छ।
पोस्टरमा जितु नेपाल भरियाको रूपमा देखिन्छन्, जसले डोको बोकेको दृश्य निकै प्रभावशाली छ। डोकोमाथि पहाडजस्तै संरचना र त्यसमा हिँडिरहेका भरियाहरूको झल्को देखिन्छ, जसले फिल्मको कथावस्तु श्रम, संघर्ष र यात्रासँग जोडिएको हुनसक्ने संकेत गर्छ। आकाशमा उडिरहेका चराहरूले स्वतन्त्रता र आशाको भाव पनि व्यक्त गर्छन्।
पोस्टरको तल्लो भागमा भने एक मायालु जोडीको दृश्य देखिन्छ, जहाँ एक युवती पुरुषको काँधमा टाउको राखेर उभिएकी छन्। ती पात्रहरू को हुन् भन्ने विषयले दर्शकमाझ अझै कौतुहलता पैदा गरेको छ। जितु नेपाललाई यसपटक पूर्ण रूपमा फरक र गम्भीर भूमिकामा प्रस्तुत गरिएको छ, जसले उनको अभिनयको नयाँ पाटो देखाउने अपेक्षा गरिएको छ।
हास्य कलाकारको रूपमा परिचित जितुलाई निर्देशक राजेन्द्र बस्नेत ले यस फिल्ममा भरियाको चरित्रमार्फत नयाँ ढंगले प्रस्तुत गरेका छन्। फिल्मको छायांकन धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा लगायत पूर्वी नेपालका विभिन्न रमणीय स्थानमा गरिएको हो।
फिल्ममा जितु नेपालसँगै प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायत कलाकारहरूको अभिनय रहनेछ।
बालकुमार राई निर्माताको रूपमा रहेका यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता हुन्। कर्णबहादुर फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको ‘कार्की साइँला’मा मुख्य सहायक निर्देशक रोजल थापा, छायांकन डम्बर राई, द्वन्द निर्देशन किरण दाहाल र संगीत दिप्सन लिम्बुको रहेको छ। प्रोडक्सन सिबी भण्डारीले सम्हालेका छन् भने वितरण कुबेर फिल्म्सले गर्नेछ।
निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गर्दै आगामी साउन १ गतेबाट देशभर रिलिज हुने जानकारी दिएको छ। फस्ट लुक्स सार्वजनिक भएसँगै ‘कार्की साइँला’ले दर्शकमाझ राम्रो चर्चा पाएको छ। अब साउन १ मा फिल्मले पर्दामा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ।
यो पनि पढ्नुहोस् : ‘यूनिभर्सिटी अफ गुन्डाज’को दमदार स्टारकास्ट, एकै फिल्ममा सलिनमान, सलोन र अनमोल
