
फिल्म ‘ए मेरो हजुर २’बाट अभिनय यात्रा सुरु गरेका सलिनमान बानियाले छोटो समयमै दर्शकमाझ राम्रो पहिचान बनाए। पहिलो फिल्मबाटै नोटिस भएका उनले दोस्रो प्रोजेक्ट ‘यात्राः अ म्युजिकल भ्लग’मा पनि अभिनय गर्दै आफ्नो स्थान बलियो बनाएका थिए।
तर त्यसपछि भने उनी अचानक फिल्म क्षेत्रबाट टाढिए। न नयाँ फिल्मको खबर आयो, न सामाजिक सञ्जालमा उनको सक्रियता देखियो। लामो समयपछि उनी गत वर्ष सलोन बस्नेत अभिनित फिल्म ‘रंगी’को प्रिमियरमा देखिएका थिए, तर त्यसपछि पनि खासै चर्चा भएन।
अब, करिब आठ वर्षको मौनतापछि सलिनमानले नयाँ वर्षको अवसर पारेर कमब्याकको संकेत दिएका छन्। उनले सामाजिक सञ्जालमा एक तस्बिरसहित भावनात्मक स्टाटस लेख्दै आफू फेरि सक्रिय हुन लागेको बताएका छन्। उनले लेखेका छन् “कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ… केही समयको पर्खाइपछि… नयाँ वर्षले केही पुराना रंगहरू फेरि जिउँदो पार्न खोज्दैछ…”
उनले कुन फिल्मबाट फर्किँदैछन् भन्ने कुरा भने खुलाएका छैनन्। यही कारण अहिले उनका फ्यानहरूबीच जिज्ञासा बढेको छ।
उद्योगभित्रको चर्चा अनुसार, सलिनमान सलोन बस्नेत सँग नयाँ फिल्ममा देखिन सक्ने सम्भावना रहेको बताइन्छ। तर यसबारे आधिकारिक पुष्टि भने दुवै पक्षबाट भएको छैन।
सलिनमानले सार्वजनिक गरेको तस्बिर हेर्दा उनी कुनै फिल्मको सेटमा रहेको जस्तो देखिन्छ। सम्भवतः त्यही झलक उनले नयाँ वर्षको उपहारका रूपमा फ्यानसँग बाँडेका हुन सक्छन्। अब उनले कुन प्रोजेक्टमार्फत कमब्याक गर्छन् त भन्ने जिज्ञासाको लागि प्रतीक्षा गर्नै हुन्छ।
यो पनि पढ्नुहोस्: ‘यूनिभर्सिटी अफ गुन्डाज’को दमदार स्टारकास्ट, एकै फिल्ममा सलिनमान, सलोन र अनमोल
