२४ वर्षे निर्देशकको कारागार भित्रै मृत्यु


इजिप्टका रक संगीतकर्मी रेमी एस्समको एउटा म्युजिक भिडियो निर्देशन गरेकै कारण सन् २०१८ को मार्चमा हबास पक्राउ परेका थिए। भिडियोमा एस्समलाई इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीको शासनको आलोचना गर्दै नाचिरहेको अवस्थामा देख्न सकिन्छ। रेमी इजिप्टमा २०११ मा भएको राजनीतिक परिवर्तनका बिम्ब बनेका संगीतकर्मी हुन्। हबासले निर्देशन गरेको भिडियोमा रेमी राष्ट्रपतिलाई ‘बाला’सँग तुलना गर्छन्, जुन त्यहाँको चर्चित कमेडी फिल्मको क्यारेक्टरको नाम हो, जसलाई समीक्षकहरूले राष्ट्रपति सिसीविरुद्ध प्रयोग गर्दै आइरहेका थिए।

म्युुजिक भिडियोमार्फत इजिप्टका राष्ट्रपतिको मज्जाक उडाएको आरोपमा सजाय भोगिरहेका युवा फिल्ममेकर शेदी हबासले गत अक्टोबरमा जेलभित्रै लेखेको अन्तिम पत्रमा यसरी मृत्यु आफू नजिक आइरहेको संकेत गरेका थिए। यसको करिब ६ महिनापछि आखिर उनले भनेजस्तै भयो। गत शनिबार कायरोस्थित तोराको जेलभित्रबाटै उनको निधनको खबर बाहिरियो। बिडम्बनापूर्ण संयोग कस्तो थियो भने शेदीको निधनको भोलिपल्ट अर्थात् मे ३ तारिख सारा संसार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेको थियो।

उनले निर्देशन गरेको म्युजिक भिडियो एस्तो छ।

संसारभरिका लेखक, बौद्धिक तथा पत्रकारहरू जुन दिन अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो आवाज झन् बुलन्द बनाइरहेका थिए। त्यही बेला अभिव्यक्ति स्वतन्त्रता निमोठिएकै कारण दुुई वर्षदेखि बिना कुनै मुद्दा जेल जीवन काटिरहेका एक २४ वर्षीया युवा फिल्म निर्देशकको कारागारमै मृत्युुु भएको खबर संसारभर फैलिरहेको थियो। संसारैभरि आलोचना नसहने र फरक मत सुन्न नसक्ने सरकारहरूका कारण आउने परिणामको अर्को साक्षीका रूपमा इजिप्टको यो घटना देखिएको छ। इजिप्टको बिग्रँदो जेल प्रणालीमा वर्तमान राष्ट्रपति अल–सिसीको शासनसँग असहमति जनाएर कैद भएका कलाकारहरू कति जोखिममा छन्, हबासको हिरासत र मृत्युु त्यसको पनि उदाहरण हो। इजिप्टमा कोभिड–१९ को जोखिम बढिरहँदा जेलको सरसफाइ र सुरक्षामा समेत सत्ताले ध्यान नदिएको भन्दै अहिले ठूूलो चिन्ता प्रकट भइरहेको छ।

हबासको निधनलाई कुनै कलाकारले अल्पायूमै ज्यान बिताउनु परेको घटनाका रूपमा मात्रै नभई एउटा कलाकारको अभिव्यक्ति स्वतन्त्रताको हत्याका रूपमा लिइएको छ । इजिप्टमा भएको यो घटनाले पछिल्लो समय नेपालमा पनि बढिरहेको कलाकार पक्राउका शृंखलालाई समेत सम्झाइदिएको छ । नेपालमा पनि हालै सामाजिक सञ्जालमा प्रधानमन्त्री र सरकारको निरन्तर आलोचना गरेकै कारण पूर्वसचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेर विद्युतिय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएको धेरै भएको छैन । यद्यपि उनी अहिले धरौटीमा छुटिसके।

अघिल्लो वर्ष कात्तिकमा प्रहरीले गायक दुुर्गेश थापालाई तिहारसम्बन्धी गीतमा समाजमा गलत सन्देश फैलाउने शब्दहरू प्रयोग गरेको भन्दै पक्राउ गरेको थियो। उनलाई प्रहरीले आपत्ति जनाएका शब्दहरू हटाउने शर्तमा माफी मगाएर रिहा गरेको थियो। दुुर्गेेशलाई छाडेको केही दिनपछि महानगरिय प्रहरी अपराध महाशाखाकै टोलीले र्‍यापर भिटेनलाई समात्यो। ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीबारे अपशब्द प्रयोग गरेको भन्दै उनलाई एक रात हिरासतमा राखिएको थियो । अघिल्लो वर्ष नै युट्युबमा गरिएको व्यंग्यात्मक फिल्म समीक्षाका कारण कमेडियन प्रनेश गौतम ८ दिन हिरासत बस्नुपरेको थियो । उनलाई पनि विद्युतिय कारोबार ऐनअन्र्तगत मुुद्दा चलाइएको थियो। जेलभित्रै संसार त्याग्न बाध्य इजिप्टका फिल्ममेकर हबासको अवसानको समाचारले संसारैभरिका अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई दु:खी बनाएको छ।

SUBSCRIBE 👉