पैसाको लागि रूप बेच्ने र रूपको लागि पैसा खर्च गर्ने खेल धेरै हुन्छ – अभिनेता धीरेन्द्रराज थापा


पछिल्लो समय नेपाली सिनेमामा गैर आवासीय नेपाली (एनआरएन) हरूको प्रवेश ह्वात्तै बढेको छ। कोही हिरो, कोही हिरोइन त कोही निर्माता र निर्देशकको रूपमा एनआरएनहरूले आफ्नो उपस्थिति देखाइरहेका छन्। धीरेन्द्रराज थापा पनि तिनै एनआरएनमध्ये एक हुन्। २४ वर्ष देखि केराको व्यवसायमा संलग्न भएकोले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूमाझ उनी ‘बनाना किङ’को रूपमा परिचित छन् र अहिले नेपाली चलचित्र क्षेत्रमा आफूलाई अभिनेताको रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन्। ‘थ्री लर्भस’बाट सिनेयात्रा थालनी गरेका थापाको ढुवानी, स्कुल, एकसेएक लगायतका चलचित्र प्रदर्शनको क्रममा छन्। त्यसमध्ये चेलीबेटी बेचबिखनविरुद्ध बनेको चलचित्र ‘ढुवानी’ निकै चर्चामा छ। यसै सन्दर्भमा ‘ढुवानी’, उनको फिल्मी करिअर र नेपाली सिनेमाको ओभरसिज मार्केटको विषयमा थापासँग गरिएको कुराकानीःdhirendra-thapaअस्ट्रेलियामा व्यापार-व्यवसाय गरेर टन्न डलर कमाइरहेको मान्छे कसरी हिरो बन्नुभयो ?
म बच्चादेखि नै अभिनय र डान्स भनेपछि हुरुक्क हुन्थें। सिक्किममा पढ्दा सुरुदेखि नै स्कुलमा हुने नाटकहरू गर्थे, चर्चित निर्देशक उगेन छोपेल हाम्रो क्याप्टेन हुनुहुन्थ्यो। पछि कलेज पढ्न विराटनगर आउँदा नाटक निरन्तर गरिरहें। चर्तुभुज पौडेल -निर्देशक प्रसन्न पौडेलका पिता) सँग डान्स सिक्ने मौका पाएँ। उहाँसँग डान्स सिकेपछि कोरियोग्राफरको रूपमा म विराटनगरमा चर्चित भइरहेको थिएँ। त्यतिबेला अध्ययनको लागि अस्ट्रेलिया जानुपर्‍यो। तर पनि अभिनयको भूत ज्यूँका त्यूँ थियो । त्यही भएर म्युजिक भिडियो खेल्न थालेँ। अलि पछि अस्ट्रेलियामा कलाकार लगेर सांस्कृतिक कार्यक्रम गर्न थालेँ । फिल्म पनि प्रदर्शन गर्न थालियो। कलाकारसँग संगत बढ्दै गयो। यसैक्रममा सुरेशदर्पण पोखरेलले ‘थ्री लर्भस’मा अफर गर्नुभयो। त्यसपछि नेपाल आइयो । यसबीचमा पाँच सिनेमा गरिसके।


पछिल्लो समय नेपाली चलचित्रमा एनआरएनहरूको प्रवेश ह्वात्तै बढेको छ। तपाईंहरू के उद्देश्य लिएर आइरहनुभएको छ ?

सबैको आ-आफ्नो उद्देश्य होला तर मेरोचाहिँ अलि भिन्न छ। करिब १५ वर्ष अगाडि अस्ट्रेलियामा हुँदा हलिउडमात्र होइन, हाम्रो छिमेकी मुलुक भारतका सिनेमाहरू पनि देखाइन्थ्यो। उनीहरूको सिनेमा चल्दा मलाई लोभ लाग्थ्यो, नेपाली सिनेमा पनि प्रदर्शन गर्न पाए कति राम्राे हुन्थ्यो जस्तो लाग्थ्यो। पछि मैले त्यो इच्छा पूरा गरेँ। अस्ट्रेलियामा नेपाली फिल्मको पहिलो शो मैले नै गराएको हुँ । खासमा नेपाली सिनेमाको व्यावसायिक क्षेत्र फराकिलो होस् र विदेशमा पनि हाम्रो सिनेमा हेर्न पाइयोस् भन्ने उद्देश्यले नै विदेशको काम केही समय थाती राखेर स्वदेश आएको छु।

तर मोडल/हिरोइनसँग मोजमस्ती गर्न एनआरएनहरू सिनेमा खेल्छन्, बनाउँछन् भन्ने आरोप लाग्न थालेको छ नि ?

-हो, कोही एनआरएन मोजमस्ती गर्नै आएका हुन सक्छन् तर सबैलाई यही ड्याङमा राख्नुचाहिँ अन्यायपूर्ण हुन्छ। सिनेमा क्षेत्रमा प्रवेश गर्नुको मेरो उद्देश्य भनेको आफ्नो क्ष्ामता पनि देखाऔं, जुन सिनेमाको विकासको लागि पनि फलदायी होस्। विदेशमा २४ वर्ष बसियो, अब आफ्नो देशको संस्कृतिको उत्थानमा पनि आफ्नो भूमिका रहोस् भन्ने नै हो। मोजमस्ती गर्न त किन यहाँ आउनुपर्‍यो ? पैसा भएपछि उतै जति पनि पाइन्छ, हैन र ?

एनआरएन भनेपछि नेपाली एनआरएन भनेपछि मोडल/हिरोइनहरू हुरुक्क हुन्छन्, मुर्गा बनाउँछन् भन्ने सुनिन्छ । तपाईंचाहिँ कतिको मुर्गा बन्नुभयो ?
हो, एनआरएनसँग टन्न पैसा हुन्छ, विदेश जान पाइन्छ भनेर लहसिन खोज्ने धेरै हुँदारहेछन्। त्यसमाथि सिने क्षेत्र भनेको ग्ल्यामर वल्र्ड हो। जहाँ पैसाको लागि रूप बेच्ने र रूपको लागि पैसा खर्च गर्ने खेल धेरै हुन्छ। म अस्ट्रेलियाबाट आएको थाहा पाउनेबित्तिकै कति मोडलहरू पछि नलागेका होइनन्। हामीलाई दुईचार हजार डलर ठूलो नहुने तर यहाँका हिरोइनलाई धेरै हुने भएकोले तपाईंकै भाषामा भन्दा ‘मुर्गा’ ठान्दा रहेछन्। र, जसरी भए पनि हामीलाई ‘खुसी’ बनाउने प्रयास गर्दा रहेछन्। तर सबै हिरोइन त्यस्तै छन् भन्नेचाहिँ होइन । जसलाई आफ्नो क्षेमता मताभन्दा रूपको घमण्ड छ, त्यस्ता हिरोइन पैसाको लागि हाम्रो शरणमा आउँदा रहेछन् । अब यसलाई हामीले मुर्गा बनाएको भन्ने कि उनीहरूले ? थाहा भएन। तर यथार्थचाहिँ यस्ता प्रवृत्ति धेरै हुँदो रहेछ।

विदेशमा नेपाली सिनेमाको मार्केट कस्तो छ ?
विस्तारै राम्रो हुँदै थियो। विदेशमा बस्ने नेपालीहरूलाई नेपाली सिनेमा हेर्ने लत बस्दै थियो। बीस डलर तिरेर हजार जनाले मात्र सिनेमा हेरे भने निर्माता ‘सेभ’ भइहाल्थ्यो। तर पछिल्लो समय जसले जस्तो सिनेमा पनि देखाउन लान थालेपछि भने समस्या उत्पन्न भएको छ। आजकल विदेशतिर फिल्म प्रोड्युसरको काका, मामा, भिनाजु साथीभाई कोही न कोही भइहाल्छ। अनि उसकै सर्पोटमा गुणस्तरहीन सिनेमाहरू विदेशमा देखाउन थालियो। अस्ट्रेलियामा पनि यस्तै समस्या देखिन थालेको छ। निश्चित प्रक्रिया पूरा गरेर प्रोफेसननल रूपमा सिनेमा प्रदर्शन गर्न लानुपर्नेमा जसले जतिबेला मन लाग्यो, देखाउने काम भइरहेको छ। यस्तो क्रम नरोकिने हो भने विकास हुँदै आएको ओभरसिज मार्केट पनि ध्वस्त हुन सक्छ। त्यसैले, चलचित्र विकास बोर्डले विदेशमा प्रदर्शन गर्न निश्चित प्रक्रिया पूरा गर्नैपर्ने र प्रमाणपत्र लिनैपर्ने नियम लगाउने हो भने व्यवस्थित हुनसक्छ।

प्रसंग बदलौं, तपाईं अभिनीत पछिल्लो चलचित्र ‘ढुवानी’ निकै चर्चामा छ। यस्तो चर्चा हुनैपर्ने त्यस्तो विशेष के छ सिनेमामा ?
‘ढुवानी’ले नेपाली समाजमा विकराल समस्याको रूपमा रहेको चेलीबेटी बेचबिखनको इस्युलाई रेज गरेको कारण धेरै चर्चा भएको हुनसक्छ। निर्देशक पीताम्बर पाण्डेले जीवन्त ढंगबाट बेचबिखनको समस्यालाई प्रस्तुत गर्नुभएको छ। यो टिपिकल नेपाली र सबैले हेर्नुपर्ने चलचित्र बनेको छ। यसले मनोरञ्जनको साथसाथै गहन र प्रभावकारी शिक्षा दिने भएकोले पनि निकै महत्वका साथ हेरिएको हुन सक्छ।

तपाईंको भूमिका ?
मेरो नेगेटिभ तर इफेक्टिभ रोल छ। जसले केटीको सप्लाई अर्थात् ढुवानी गर्छ। केटीहरूलाई पीडा, यातना दिएर कहिले यता त कहिले उता भन्दै बेच्न लाने पात्रको भूमिकामा छु। सिनेमा फेरेपछि मेरोजस्तो प्रवृत्ति भएको मान्छेको विश्वास गर्नुहुन्न भन्ने सदेन्श दिन्छ।

तपाईं आफैंचाहिँ फिल्म प्रोड्युस गर्ने सोचमा हुनुहुन्न ?
अहिले तत्कालको लागि छैन। भविष्यमा पक्का बनाउँछु। खासमा म अहिले ‘ब्याचलर्स’ भन्ने सिनेमाको स्क्रिप्ट लेखिरहेको छु। त्यसमा लगानी गर्न दुईतीनजना रेडी भइसक्नुभएको छ। यदि उहाँसँग कुरा मिलेन भने आफैं लगानी गर्छु।

अन्त्यमा, पाँचवटा फिल्ममा काम गरिसकेपछि अब नेपालमै बस्छु भन्ने लागेको छ कि फेरि अस्ट्रेलिया र्फकने योजनामा हुनुहुन्छ ?
सायद र्फकन्छु होला। किनभने यहाँ कलाकारको भविष्यको कुनै ग्यारेन्टी छैन। एउटा तीतो तर सत्य, जुन मैले यहाँ आएपछि देखेँ। कुनै निर्माताले चलेको हिरोलाई आफ्नो सिनेमामा खेलाउने पक्कापक्की भइसकेको छ र त्यहीबेला कुनै पैसावाला आएर ‘पाच लाँख हाल्छु, म हिरो हुनुपर्छ’ भन्यो भने भने पहिलेको हिरो जतिसुकै हिट भए पनि सिनेमाबाट आउट हुन्छ। यहाँ यस्तो अन्प्रोफेसनल प्रवृत्ति भएकोले कलाकारको भविष्य निकै अन्योलपूर्ण देख्छु। ट्यालेन्टभन्दा पैसा र चाकडीको धेरै महत्व रहेछ। सिनेमा गरेबापत पैसा पाउनेभन्दा पनि उल्टो निर्मातालाई दिनुपर्ने स्थिति छ। त्यसो हुनाले अस्ट्रेलियाको व्यापार चटक्कै छोडेर नेपालमै आइहाल्ने कुनै योजना छैन। तर पनि कुनै न कुनै हिसाबले नेपाली दर्शकसँग किप इन टच भइरहन्छु। सिनेमाको स्तर र मार्केट उकास्न सक्दो प्रयत्न गर्नेछु।

SUBSCRIBE 👉