सम्बन्ध महजस्तो गुलियो छ भने हनिमुन जहाँ पनि हुन सक्छ – नायक राजेश हमाल


Rajesh-Hamal-Glamour-Nepalफिल्ममा आएदेखि दुई दशकभन्दा बढी समयसम्म लगातार नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गर्न सफल नायक राजेश हमाल पछिल्लो समयमा फिल्ममा कम बिहेको चर्चा र अन्य कार्यक्रममा बढी व्यस्त देखिन थालेका छन्। धरानकी प्रेमिका मधु भट्टराईसँग बिहे बन्धनमा बाँधिने तयारी गरिरहेका हमालले उनीसँगको सम्बन्ध र विवाह योजनाबारे मिडिया सँग मुख खोलेका छन्। आफ्नो प्रेमकहानीको इतिवृत्ति मिडियामा सार्वजनिक भइसकेपछि हमालले यसबारे मुख खोलेका हुन्। हमालसँग उनको पछिल्लो करियर र प्रेम अनि विवाह प्रसंगबारे गरिएको कुराकानीको सम्पादित अंश:

हिजोआज त्यति धेरै फिल्म गरिरहनुभएको छैन, नि ? अफर नभएर हो कि ? (बजारमा देखिएको कुराबाटै कुरकानी शुरू गरियो)
– हरेक कालखण्डमा मान्छेको पेसा या करियर एउटै किसिमबाट हुँदैन। २३–२४ वर्ष चलचित्रमै काम गरिसकेपछि आज नेपाली चलचित्रमा बेग्लै मोड आएको छ। दर्शकको स्वाद, चाहना र आकांक्षा जुन छ, त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेमा अहिले नेपाली चलचित्र कताकता अलमलिएको छ। आज आएर विगतको चलचित्र शैलीले थेग्दैन, बदलिँदो समयलाई सम्बोधन गर्न त्यस्तै चलचित्र बन्नुपर्छ। अहिले यो विषयवस्तु चल्छ कि, त्यो चल्छ कि यो सामग्री समेट्यो भने चल्छ कि भनेर एक्सपेरिमेन्ट पनि गरिरा’छौं। (हमालले शालिनतापूर्वक जवाफ दिए)

मेरो आफ्नो व्यक्तिगत सवालमा पनि २३–२४ वर्ष यो फिल्डमा गरिसकेपछि कलाकारितामा एउटा नयाँ मोड आउन जरुरी थियो, त्यसैको चपेटमा छु अहिले। अहिलेको समय हाम्रा लागि चुनौतीपूर्ण घडी हो। हामीले सही मानेमा दर्शकको चाहना र इच्छा बझ्न सक्यौं वा स्वीकार्य गर्न सक्यौं भने अर्को कालखण्ड नआउन्जेलसम्म त्यही प्रकारको छवि बोकेर जान्छ जस्तो लाग्छ।

अफर आएर पनि छोडेको छु। चलचित्र र मेरो करियर दुवैमा नयाँ मोड आएको छ। विगतमा जस्तो चलचित्र गरिरहने परिस्थितिमा म छैन।

यो अन्योलको वातावरण बन्नुमा तपाईंको पनि हात छ कि ? किनभने त्यो कालमा चलचित्र छानेर खेल्नुभएन। जति अफर आयो सबैमा खेल्नुभयो। यसो गर्दा गुण बढेन, संख्या मात्र बढ्यो नि हैन र ? (हमालले वर्षौंदेखि खप्दै आएको आरोप पनि हो यो)
– जुत्ता जसले लगाउँछ उसैलाई थाहा हुन्छ कहाँनिर दुख्छ भन्ने कुरा। (हमालले हाँस्दै पुरानै कुरा दोहोर्याए) बाहिरको मान्छेले त खालि अनुमान मात्र गर्ने हो। त्यो बेलामा चलचित्र जुन शैलीमा अगाडि बढिरहेको थियो, छनोट गरेर खेलौं भन्ने थिएन। त्यो बेलामा पनि भनेको थिएँ, आजको घडीमा पनि भन्छु एउटा चलचित्रबाट अर्को यो भिन्नै किसिमले बन्न लाग्यो भनेर छान्ने अवस्था थिएन।

तपाईं बदलिरहेको अवस्थामा तपाईंले चाहेको भए परिवर्तन गराउन सक्ने अवस्था थियो नि ?
– मलाई लाग्छ मैले ठोस कदम लिएर बदलिन चाहिदेको भए त्यो काउन्टर प्रडक्टिभ हुन्थ्यो।किनकि शुरूआतका दिनमा नेपाली चलचित्रलाई बग्न दिन पनि जरुरी थियो। हाम्रो मनसाय यो पनि हुन्थ्यो कि कसरी हुन्छ बढी से बढी चलचित्र निर्माण हुन्, प्राविधिक, कलाकार लगानीकर्ता भित्रिऊन्। ताकि एउटा गति पक्रियोस्। यो बिर्सन हुँदैन कि मैले आफ्नो पहिलो चलचित्र खेल्दाखेरि पनि दोस्रो चलचित्र कहिले बन्छ र कुन अवस्थामा बन्छ भन्ने थाहा नहुने घडी थियो। यसरी २४–२५ वर्षसम्म लागिरहन्छु भनेर सोच्न वा कल्पना पनि गर्न सकिँदैन थियो। यो सबै माहोल बनाउनका लागि त्यसो गर्नै पथ्र्यो।

किनभने म एकदमै स्थापित बनिबनाउ चलचित्र उद्योगमा थिइनँ। त्यो समयमा आफ्नो व्यक्तिगत फाइदा मात्र हेरेर धेरै चलचित्र खेलेको पनि होइन। समग्र चलचित्रको फाइदा वा अर्को पात्रका लागि विभिन्न ढोका खुल्छ भनेर गरेको थिएँ। ताकि हौसला बढोस्। शुरूआतमा यसमा लाग्दा हामी कलाकारले पेसागत र मुनाफा हेरेको होइन। पेसागत र मुनाफा हुन सक्छ कि सक्दैन भन्ने नै अन्योल थियो। अहिलेको पिँढीले त देख्नुभएको छ कि सक्सेस भइसकेपछि नाम कमाइरहँदो रै’छ। उहाँहरूको आउने योजना सञ्चालन गर्ने तरिका अर्कै हुन सक्छ।

हामीचाहिँ अर्कै सोचाइबाट मार्ग निर्देशित भाथ्यौं। पछि सफलता हासिल गर्दै जाने, व्यावसायिकपन आर्जन गर्दै जाने भनेको हाम्रा लागि बाइ प्रडक्ट हो, बोनसजस्तो कुरा हो। त्यो उपलब्धि नभए पनि काम गरिरहन्थ्यौं होला। पहिलो चलचित्र गर्दा हामी एकदमै व्यावसायिक बन्छौं भन्ने थिएन, न त सुपरडुपर स्टारको मापदण्ड या नमुना थियो।

अब के यो क्षेत्रबाट टाढा हुन लाग्नुभा हो त ?
– होइन, होइन (हमालले हतारिँदै भने) करियरको पाँचौं छैटौं वर्षपछि आउने परिवर्तनजस्तै हो। म अहिलेको स्थितिमा आफूलाई कसरी ढाल्ने, अब आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने चुनौतीपूर्ण घडीमा छु। विगतमा जस्तै सबै चलचित्रमा म हुनुपर्छ भन्दिनँ। धेरै चलचित्र मेरो आवश्यकताबिना बनिरहेका छन्। समय र उमेरको हिसाबले, यो पनि स्वाभाविक प्रक्रिया हो। तर पनि म एकदमै अलगै त बसि’रा छैन। लास्ट इयर गरेको चलचित्र पनि रिलिजमा छ।

बिहेको तयारी हुँदै छ ?
– (गम्भीर हमाल अचानक फेरि लामो हाँसो हाँसे) बिहेको तयारी त हुँदै छ। बिहेको कुरामा वर्ष तय गर्नका लागि दुई जनाको सहमति हुनुपर्दो रै’छ। जब महिनामा आइन्छ, त्यति बेला आफन्त, परिवारका सदस्यहरू सबैको सल्लाहमा चल्नुपर्ने हुँदो रै’छ। वर्षबाट म महिनामा झरिसक्या छु। दिदीबहिनीहरू विदेशमा छन्, कोही कता छन्। महिनामा आइसकेपछि कुन महिनामा गर्ने भन्नेचाहिँ सबैको अनुकूलताअनुसार तय गर्नुपर्दो रहेछ।

महिला मित्र (मधु) सँग आगामी माघमा बिहे गर्ने सल्लाह गर्नुभएको थियो, सर्या हो र ?
– छैन, छैन। (उनले फेरि हतारिएर जवाफ फर्काए) यो माघमै बिहे गर्ने कुरा हो।

मुक्तिनाथ गएर गर्ने हो बिहे ?
– हैन मैले यो ठाउँमा गएर बिहे गर्ने भनेको छैन ।

तपाईंको निर्माता मित्र राजेन्द्र ठकुरी त तयारीमा लागिसक्नुभयो नि, होइन र ?
– (हमाल ठूलै रहस्य खुले जसरी हाँसे) उहाँ मेरो मित्र हुनुहुन्छ। उहाँ मुक्तिनाथको हो। विवाहको कुरा चलेपछि मैले म बैग्लै खाले विवाह गर्न चाहन्छु, अतिरञ्जित हिसाबले चाहन्नँ, नाटक त त्यसै पनि पेसामा भइरा’छ भनेको थिएँ। त्यस क्रममा कसैले मुक्तिनाथ, कसैले रारा ताल, कसैले पश्चिममा, कसैले पुख्र्यौली थलो नवलपरासीमा बिहे गर्ने सल्लाह दिएका छन्। तर यहीं गएर बिहे गर्ने भन्ने सोचेको छैन।

सहयात्री साथीहरूलाई बिहे भोज नखुवाउने ?
– भोज त खुवाउनुपर्छ नि। बिहे कसरी गर्ने भन्ने मात्र कुरा हो। वैवाहिक समारोह कसरी गर्ने टुंगो लगाएको छैन।

मधुको हात माग्न दिदीहरूलाई पठाउने कि आफैं जानुहुन्छ ?
– दिदीहरूले मागिदिने सल्लाह भा’छ । त्यतिकै पनि दिदीहरू आउँदै हुनुहुन्छ। उहाँहरू आएपछि के कसरी गर्ने डिटेलमा सल्लाह हुन्छ। उहाँहरूलाई बिहेकै लागि फेरि फेरि आइरहने वातावरण पनि बन्दैन।

तपाईंहरूबीच उमेरको अन्तर निकै छ हैन ?
– हामीले हिजो भेटेर आज निर्णय गरेको होइन। मेचुएड होस् भनेरै लामो समय लिएको हो। एकआपसलाई बुझ्नकै लागि लामो समय लिएको हो। उमेर कम भएको मान्छेलाई त अझ परिपक्वता चाहिन्छ। एउटा उमेरमा गरेको निर्णय अर्को उमेरमा गलत नलागोस्। तर अब हामीले त्यो चरण पार गरिसक्यौं, एकअर्कालाई बढ्ता चिनिसक्यौं। अब फल पाक्योजस्तो लाग्यो, काँचै टिपि’रा छैनौं।

हनिमुनका लागि कहाँ जाने सोच्नुभएको छ ?
– (फेरि हाँसो) हनिमुन भनेको मन र मस्तिष्कको कुरा हो। मन र मस्तिष्कमै हनिमुन छ भने जहाँ पनि हुन्छ, आफ्नै घरमा पनि हुन्छ। त्यसकारण म हनिमुनलाई विशेष स्थानसँग जोड्दिनँ। हनिमुन दुईटा व्यक्तिमा हुने मनिस्थिति, एकआपसप्रतिको प्रफुलता, स्वीकार्यता र गहिराइको कुरा हो। गहिराइ र समर्पण छ, खुसी पनि छ, एकअर्काको व्यवहार र सम्बन्ध महजस्तो गुलियो लाग्छ भने हनिमुन जहाँ पनि हुन सक्छ।

बिहे बाजा बजाएरै गर्ने त ?
– (फेरि हाँसे हमाल) जमघट गरिएछ भने बिहेमा बाजा त बज्ला नि। तर ब्यान्ड बाजा, पञ्जेबाजा बज्छ के बज्छ, त्योचाहिँ हेर्दै जाऊँ। म एकदमै अगाडिदेखि प्लान गर्ने मानिस होइन, कन्टिनेस टाइपको छु। त्यसमा पनि रमाइलो लाग्छ। मान्छेले याँ योजना बनाउँदा माथिको मान्छे हाँस्छ रे क्या। किनकि उसले के सोच्छ रे भने तैंले त्यहाँ योजना बनाइरा’छस् मैले तेरा लागि याँ अर्कै योजना बनाइरा’छु बेकारमा किन समय बर्बाद गरिरा’छस् भनेर हाँसो हुन्छ रे। तर लगनगाँठोमा जुन बाँधिन्छौं, त्यो सायद त्यति तामझाम नहोला।

बिहे परम्परागत विधिबमोजिम नै गर्नुहुन्छ ?
– विधिबमोजिम नै हुन्छ। बाहुन पनि हुन सक्छ, मंक, पादरी, सिग्नेचर पनि हुन सक्छ। विधि त पुर्याइन्छ। तर विधिको अनेकन बाटो छन्।

लगनगाँठो कसेर, सिन्दुर भरेरै गर्नुहुन्छ बिहे ?
– यहाँ हृदय कस्ने कुरा हुँदै छन्, बन्दै छन्। लगनगाँठो त्यसको अगाडि फिका भयो। पहिला त हृदय नै गाँसिनुपर्यो। दुईटा हृदयमा सदासदाका लागि भयंकर ठूलो नफुकिने गाँठो बाँधिनुपर्छ।

बिहेको तयारीमा हुनुहुन्छ, यो बेला कसलाई मिस गरिरहनुभएको छ ?
– (हमाल एक्कासि भावुक भए) अभियस्ली मेरा आमाबुबा, हजुरआमा। त्यसकारणले पनि मलाई त्यति तामझाम गर्न मन नलागेको हो। उहाँहरू हुनुभएको भए सायद अर्कै तरिकाले बिहे हुन्थ्यो होला। हजुरआमाको एकदमै इच्छा थियो मेरो बिहे गराइदिने।

उहाँहरू भइदिएको भए योजनाहरू आफैं बनाउनुहुन्थ्यो होला। (अनुहारको भावसँगै राजेशको आवाज पनि मधुरो हुँदै गयो) उहाँहरूकै योजनामा तामझाम हुन्थ्यो भने म आफैं परिचालित हुनुपथ्र्यो होला, निर्णय मेरो हुँदैन थियो। उहाँहरूकै मिसिङले गर्दा पनि तामझाम नगरौं भन्नेमा छु।

तपाईंको बिहे हेर्ने आमाको एकदम इच्छा थियो होइन ?
– हो…हो। (राजेशले रसाएका आँखा पुछे) त्यो सधैं एकदमै खड्किने कुरा हो। (बोल्दाबोल्दै उनको गला अवरुद्ध भए। गार्हो गरी फेरि सानो आवजमा बोले) आमा जहिले पनि मेरो हृदयमा हुनुहुन्छ, बुबा पनि हुनुहुन्छ। (त्यसपछि हमाल बोल्न सकेनन्, अवाक् भए, हातैले इसारा गरेर अन्तरवार्ता टुंग्याउन आग्रह गरे)
( फिल्मी मासिक पत्रिका “कामाना” का लागि सम्पादक बिदुर गिरीले गरेको कुराकानीमा आधारित)

SUBSCRIBE 👉