मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२४ को घोषणा


अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एशिया प्यासिफिक इन्टरनेसनलको नेपाली संस्करणका रुपमा फार्म फ्रेश मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२४ को आयोजना हुने भएको छ। ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ईं.इको आयोजनामा संचालन हुने यो प्रतियोगिताको आउँदो भदौ २९ अर्थात् १४ सेप्टेम्बरमा सानेपा स्थित होटल स्क्वाएरमा फाइनल प्रतिस्पर्धा तय भएको कुरा राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउन चाहने युवती नेपाल नागरिक हुनुपर्नेछ। अविवाहित, विवाहित एकल महिला, एकल आमा, डिभोर्स भएकाहरुले सहभागिता जनाउन सक्नेछन्। सहभागि प्लस टूको अध्ययन पूरा गरेको हुनुपर्नेछ भने उमेर समूह १९ देखि ३० वर्षको प्रावधान रहेको छ। सहभागिको उँचाई कम्तीमा ५ फिट ४ इन्च हुनुपर्नेछ । आकर्षक एवं प्रभावशाली व्यक्तित्व भएको, आत्मविश्वास र नेतृत्वदायी क्षमता भएको हुनुपर्नेछ।

उक्त पत्रकार सम्मेलनमा लाईफ फूड एण्ड वेभरेज लिमिटेड, स्क्वाएर होटल र खल्ती एप तथा जि.ईं.इ वीच मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२४ का लागि सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर पनि भएको थियो। जसमा जि.ई.इ.का सिईओ अनुप सक्सेनाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए भने लाईफ फूड एण्ड वेभरेज लिमिटेडबाट कम्पनीका सहायक ब्राण्ड म्यानेजर गोरख श्रेष्ठ, स्क्वाएर होटलका महाप्रबन्धक विकास पौडेल र खल्ती एपका तर्फबाट वरिष्ठ मार्केटिङ सहायक सुष्मिता श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

कार्यक्रममा मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१८ का विजेता आस्था साखःको पनि उपस्थिति रहेको थियो। मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२४ का लागि सनिश शाक्य कार्यक्रम निर्देशक रहने छन् भने अनुप सक्सेना मुख्य कोरियोग्राफर तथा रोजिन शाक्य स्टेज पर्फमेन्स तर्फका मुुख्य प्रशिक्षक रहने बताइएको थियो।

प्रतियोगिताको अडिसन आउँदो अगष्ट १७ तारिखमा बिजी बी ठमेलमा सम्पन्न हुनेछ भने प्रतियोगिताको प्रिजजिङ राउन्ड सेप्टेम्बर १३ का लागि तय भएको छ। प्रतियोगिताका लागि फार्म फ्रेश मुख्य प्रायोजक हो । कार्यक्रम होटल स्क्वाएरको सहकार्यमा संचालन गरिन लागिएको छ।

यस अघि जि.ईं.इ ले सन् २०१८ र २०१९ मा मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल आयोजना गरेको थियो। जस अन्तर्गत सन् २०१८ मा आस्था साखः र २०१९ मा प्रतिस्था साखःले मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपालका रुपमा विजयी ताज पहिरिएका थिए। र त्यस पछि प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको तर्फबाट सफलतापूर्वक प्रतिनिधित्व जनाएका थिए।

SUBSCRIBE 👉