चलचित्र पत्रकार संघ नेपालको युएई च्याप्टर गठन


चलचित्र पत्रकार संघ नेपालको विदेश शाखा अन्तर्गत युएईमा शाखा गठन भएको छ। संघको पहिलो विदेश शाखाको रुपमा रंग पत्रकार कमल श्रेष्ठको संयोजकत्वमा दुबई च्याप्टर गठन भएको हो।

संघका केन्द्रीय अध्यक्ष समीर बलामी र महासचिव रघुनाथ सापकोटा सिएनए इन्टर्नेशनल अनर अवार्डमा सहभागी हुन दुबई गएको मौकामा संघको दुबई च्याप्टर गठन गरेको संयोजक कमल श्रेष्ठले बताए।

पछिल्लो समय दुबई कलाकारहरुको केन्द्र बिन्दु जस्तै बनेको छ। भिडियो, छोटा चलचित्र र नेपालबाट चलचित्र खिच्न आउनेको पनि दुबईमा बाक्लै उपस्थिति छ। दुबई मै पनि भिडियोहरु निर्माण भईरहेको छ। विदाका दिनहरुमा राष्ट्रिय कलाकारहरु उपस्थित नहुने दिन नै हुँदैन। हरेक दिन जसो दुबई, आबुधावी र सार्जाहमा निरन्तर कार्यक्रम र गतिविधिहरु आयोजना हुने गरेको छ। यसलाई मध्य नजर गर्दै नेपाली कला, साहित्य, मनोरन्जन, चलचित्र, गीत संगीतको प्रचार प्रसार तथा प्रवर्द्वनका लागि चलचित्र पत्रकारिताको अपरिहार्यता रहेकोले दुबईमा संघको च्याप्टर गठन गरेको केन्द्रीय अध्यक्ष समीर बलामीले बताए।

कमल श्रेष्ठ संयोजक रहेको संघको युएई (दुबई) च्याप्टरमा सचिव अनुराग परिहार र सदस्यहरुमा सन्नी प्रधान, खिमलाल पाण्डे, केशव कटवाल, चित्र तामाङ, राम गुरुङ, देबु अर्याल लगायत रहेका छन्। गठित च्याप्टरले ६ महिना भित्र साधारण सभा गरी पूर्ण कर्यसमिति बनाईने संयोजक कमल श्रेष्ठले बताए। कार्यक्रममा दुबईमा रहेका पत्रकारहरु, नेपाल पत्रकार महसंघ युएई शाखाका अध्यक्ष मेघराज सापकोटा, निवर्तमान अध्यक लक्ष्मण खनालसहित पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

SUBSCRIBE 👉