अन्तर्राष्ट्रिय रुपमै लोकप्रियता हासिल गरेको कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’को नेपाली संस्करण ‘को बन्छ करोडपति नेपाल’ को सञ्चालन अभिनेता राजेश हमालले गर्ने भएका छन्। भारतमा लोकप्रियता हासिल गरेको प्रतियोगितामुलक कार्यक्रम ‘कौन बनेगा करोडपति’ नेपालीहरुबीच पनि लोकप्रिय रहँदा नेपाली संस्करणको सञ्चालन हमालले गर्ने जमर्को गरेका हुन्।
बेलायतबाट सन १९९८ मा सुरु भएको विश्व प्रसिद्ध कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’ विश्वका १ सय ६१ देशबाट फ्रेन्चाईजको रुपमा प्रशारण भईसकेको छ। यही प्रतियोगिताको नेपाली संंस्करणको रुपमा केविसी नेपाल (को बन्छ करोडपति नेपाल) मंसिरको पहिलो साताबाट एपी वान टेलिभिजनमार्फत प्रशारण हुँदैछ।
‘अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हासिल गरेको कार्यक्रमको सञ्चालक बन्न पाउँदा खुसी लागेको छ। को बन्छ करोडपतिले यसमा सहभागी हुने नेपालीहरुलाई बौद्धिकसँगै आर्थिक रुपमा पनि धेरै हदसम्म सबल बनाउने छ।’ बिहीबार पत्रकारमाझ हमालले भने।
कार्यक्रममा केविसी नेपाल (को बन्छ करोडपति नेपाल)को प्रोमो पनि रिलिज गरिएको छ। प्रोमोमा बलिउड अभिनेता तथा कौन बनेगा करोडपतिका सञ्चालक अमिताभ बच्चनले ‘नमस्कार नेपाल, तपाईहरु सन्चै हुनुहुन्छ’ भन्ने नेपाली संवाद बोलेका छन्। आयोजक विपिनकुमार आचार्यले नेपालीहरुलाई खेल खेलाउँदै आर्थिक रुपमा समृद्ध र अझ बौद्धिक बनाउन आफुहरुले को बन्छ करोडपति नेपाल कार्यक्रम टेलिभिजनमार्फत सञ्चालन गर्न लागेको बताए।