
मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। फर्स्ट लुकमार्फत चलचित्रको प्रदर्शन मिति यही वर्षको तिहारलाई तय गरिएको हो।
सार्वजनिक सामग्रीहरूले चलचित्रप्रति दर्शकको कौतूहलता तीव्र बनाएको छ, जसमा अभिनेता विजय बराललाई ‘पुन्य चौलागाईँ’ नामक वडा अध्यक्षको निकै फरक र रोचक अवतारमा प्रस्तुत गरिएको छ।
फर्स्ट लुक भिडियोमा पृष्ठभूमिबाट गुन्जिने “जहाँ समस्या त्यहाँ पुन्य चौलागाईँ” भन्ने संवाद र लगत्तै पुन्यको “यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो” भन्ने संवादले उनी गाउँको एक चलाख र चतुर जनप्रतिनिधि हुन् भन्ने प्रस्ट पार्छ। बाक्लो जुँगा, चस्मा, ढाका टोपी र सुटमा सजिएका विजय बरालको एउटा दृश्य निकै प्रतीकात्मक र व्यङ्ग्यात्मक छ।
वडा अध्यक्ष पुन्य चौलागाईँ सेतो घोडामा चढेर हातमा दुईवटा स्ट्यान्ड फ्यान बोकेर हिँडिरहेको र गाउँलेहरूले पहाडी बाटोमा एउटा ठुलो काठको बाकस बोकेर हिँडिरहेको दृश्यले कथाको गहिराइलाई थप रहस्यमयी बनाएको छ।
‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो हेर्नुहोस्
