फिल्म प्रचार छाडेर बाढीपीडितको सेवामा प्रियना आचार्य, ५ गाडी राहत सामग्री पठाइन्

‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्यले फिल्मको प्रचारप्रसारभन्दा बाढीपीडितको सहयोगलाई प्राथमिकता दिँदै रसुवा र नुवाकोटका प्रभावित परिवारका लागि पाँच गाडी राहत सामग्री पठाएकी छन्।

रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको बेला अभिनेत्री प्रियना आचार्य प्रभावित परिवारको सहयोगमा जुटेकी छन्। फिल्म ‘कार्की साइँला’को प्रदर्शन नजिकिँदै गर्दा प्रचारप्रसारमा व्यस्त हुनुपर्ने समयमै उनले मानवीय सहायतालाई प्राथमिकता दिएकी हुन्।

बाढीबाट प्रभावित नुवाकोट तथा रसुवाका पीडितका लागि प्रियनाले व्यक्तिगत पहलमा पाँच गाडी राहत सामग्री पठाएकी छन्। पीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्नसहित अन्य सामग्री जुटाएर प्रभावित क्षेत्रमा पठाइएको उनले जानकारी दिइन्।

उनले भनिन्, “अहिले फिल्मको प्रचारप्रसारभन्दा पनि बाढीका कारण बिचल्लीमा परेका मानिसहरूलाई राहतको खाँचो छ। त्यसैले अहिले म पूर्ण रूपमा यसै अभियानमा सक्रिय भएर लागेकी छु।”

प्राकृतिक विपद्का कारण धेरै परिवारको गाँस, बास र कपाससमेत खोसिएको अवस्थामा राहत र सहयोगलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ।

प्रियना अभिनीत फिल्म ‘कार्की साइँला’ आगामी असोज २ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। फिल्म प्रदर्शनमा आउन दुई साता पनि बाँकी नरहेको अवस्थामा कलाकारहरू प्रचार अभियानमा सक्रिय हुने समय भए पनि प्रियना भने बाढीपीडितको सहयोगमा केन्द्रित भएकी छन्।

भारी बोकेर जीविकोपार्जन गर्ने कार्की साइँलाको कथामा आधारित फिल्ममा जितु नेपाल र प्रियना आचार्य मुख्य भूमिकामा छन्।

SUBSCRIBE 👉