नेपालमा विपत्ति, हजारौं किलोमिटर टाढा अष्ट्रेलिया Geelongमा देखियो नेपालप्रतिको भावनात्मक दृश्य

नेपालको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई साथ दिँदै अष्ट्रेलियाको Geelong नेपाली झण्डाका रंगमा उज्यालिएको छ। स्थानीय नेपाली समुदायले Johnstone Park मा candlelight vigil समेत आयोजना गरेको छ।

नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धता जनाउँदै अष्ट्रेलियाको भिक्टोरियास्थित Geelong सहर नेपाली झण्डाका रंगमा उज्यालिएको छ। हजारौं किलोमिटर टाढाको सहरमा देखिएको रातो, नीलो र सेतो प्रकाश अहिले नेपालप्रतिको सहानुभूति र साथको प्रतीक बनेको छ।

City of Greater Geelong ले स्थानीय तथा विश्वभर रहेका नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउँदै Moorabool Street तथा Moorabool र Malop Street आसपासका catenary lights नेपाली झण्डाका रंगमा प्रज्ज्वलित गरेको हो।

सप्ताहन्तदेखि सुरु गरिएको उक्त प्रकाश सजावट साताभर जारी रहने जनाइएको छ।

काउन्सिलले नेपालमा विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित सबैप्रति संवेदना व्यक्त गर्दै अझै पनि आफ्ना परिवार र आफन्तको खबर पर्खिरहेका व्यक्तिहरूप्रति विशेष सहानुभूति जनाएको छ।

Johnstone Park मा नेपाली समुदायको candlelight vigil

Geelong मा बसोबास गर्ने नेपाली समुदायले पनि विपत्तिपछि शोक, प्रार्थना र ऐक्यबद्धताका विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

अगस्ट 30 मा Geelong Nepalese Association को आयोजनामा Johnstone Park मा candlelight vigil गरिएको थियो। छोटो समयमै आयोजना गरिएको कार्यक्रममा सयौं स्थानीय नेपाली, अन्य समुदायका सदस्य तथा स्थानीय प्रतिनिधिहरू सहभागी भएका थिए।

Geelong Nepalese Association का अध्यक्ष Niraj Karanjeet का अनुसार कार्यक्रमको उद्देश्य विपत्तिमा ज्यान गुमाएकाहरूलाई सम्झनु, बेपत्ता व्यक्तिहरूको सकुशल खबरको प्रतीक्षा गरिरहेका परिवारलाई साथ दिनु र कठिन समयमा समुदायलाई एकताबद्ध बनाउनु थियो।

नेपालमा अगस्ट 26 मा भोटेकोशी नदी क्षेत्रबाट सुरु भएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीले घर, सडक, पुल र जलविद्युत् आयोजनासहित व्यापक पूर्वाधारमा क्षति पुर्‍याएको छ भने खोज तथा उद्धार कार्य जारी छ।

विपत्तिपछि थप बाढीको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूले तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहनसमेत आग्रह गरेका छन्।

हजारौं किलोमिटर टाढा Geelong मा नेपाली झण्डाका रंगमा उज्यालिएका सडकबत्तीले यतिबेला एउटा भावनात्मक सन्देश दिएका छन् – विपत्तिको पीडामा नेपाल एक्लो छैन।

Geelong को नेपाली समुदायका लागि यो केवल प्रकाश सजावट मात्र होइन। घरदेशमा विपत्तिसँग जुधिरहेका परिवार, आफन्त र सम्पूर्ण समुदायप्रति अष्ट्रेलियाली समाजले देखाएको साथ, सम्मान र सहानुभूतिको प्रतीक पनि हो।

SUBSCRIBE 👉