
31 years, A Mother Becomes Miss USA 206 and She will Compete Miss Universe 2026 in Puerto Rico.
Image Courtesy: Matias J. Ocnermocner / miamiherald.com
कुनै समय विवाह, मातृत्व र उमेरले महिलाको सौन्दर्य प्रतियोगिताको यात्रा नै रोकिदिन्थ्यो। तर अमेरिकाकी ३१ वर्षीया जस्टस केलीले त्यही पुरानो सीमालाई तोड्दै मिस युएसए (Miss USA) को ७५ वर्षे इतिहासमा नयाँ अध्याय लेखेकी छन्।
भर्जिनियाको प्रतिनिधित्व गरेकी केलीले गत अगस्ट २७ मा मायामीस्थित Adrienne Arsht Center for the Performing Arts मा सम्पन्न Miss USA 2026 को ताज जितिन्। यो जितसँगै उनी Miss USA को आधिकारिक इतिहासमा ताज कायम राख्ने पहिलो विवाहित महिला, पहिलो आमा र ३० वर्ष नाघेकी पहिलो विजेता बनेकी छन्।
केली फोस्टर आमा हुन्। उनी र उनका पति टाइलर केलीले हाल दुई दाजुबहिनीलाई foster care अन्तर्गत आफ्नो परिवारमा हेरचाह गरिरहेका छन्।
मिस युएसए २०२५ अड्री एकर्टले केलीलाई प्रतियोगिताको ७५औँ संस्करणमा ताज पहिर्याएकी थिइन्। यो जितसँगै केली मिस युएसएको ताज जित्ने भर्जिनियाकी पाँचौँ प्रतिनिधि समेत बनेकी छन्। राज्यले पाँच दशकभन्दा लामो समयपछि पुनः यो राष्ट्रिय उपाधि जितेको हो।
तर केलीको कथा ताज र ग्ल्यामरमा मात्र सीमित छैन। उनी पब्लिक हेल्थ अध्ययन गरेकी पेशेवर, परोपकारी क्षेत्रमा कार्यरत व्यक्तित्व, गैरनाफामूलक अभियानकी संस्थापक, foster parent र बालबालिकाको अधिकारका लागि आवाज उठाउँदै आएकी अभियन्ता पनि हुन्।
नियम फेरिएपछि खुलेको थियो बाटो
केलीले आज जितेको मिस युएसएको ताज केही वर्षअघिसम्म उनको पहुँचभन्दा बाहिर हुन्थ्यो। मिस युएसएले सन् २०२३ देखि विवाहित महिला र आमाहरूलाई प्रतियोगितामा भाग लिन अनुमति दिएको थियो। त्यसपछि सन् २०२४ मा उमेरसम्बन्धी अर्को ठूलो परिवर्तन गर्दै १८ वर्षभन्दा माथिका सबै महिलाका लागि प्रतियोगिता खुला गरियो। यसअघि अधिकतम उमेर २८ वर्ष थियो।
त्यसैले ३१ वर्षीया, विवाहित र foster mother केलीको जित ती परिवर्तनहरूको सबैभन्दा महत्वपूर्ण परिणाममध्ये एक बनेको छ।
मिस युएसएको अन्तिम प्रश्नोत्तर चरणमा समेत उनलाई प्रतियोगिताको बदलिँदो स्वरूपसँग जोडिएको प्रश्न गरिएको थियो। ७५ वर्षदेखि मिस युएसएले अमेरिकी महिलाको बदलिँदो स्वरूपलाई प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै उनलाई आफ्नो कार्यकालले आजका अमेरिकी महिलाबारे कस्तो सन्देश दिनुपर्छ भन्ने प्रश्न सोधिएको थियो।
उनको जवाफको सार थियो – महिलाले परिवार, पेशा र आफ्ना व्यक्तिगत सपना एउटै जीवनमा सँगै बोक्न सक्छन्।
परिवारका लागि मिस युएसए नै छोड्ने सोचमा
इतिहास रच्ने यो यात्रा सुरु हुनुअघि केली स्वयं प्रतियोगिताबाट पछि हट्ने सोचसम्म पुगेकी थिइन्। फेब्रुअरीमा केली र उनका पति टाइलरलाई दुई दाजुबहिनीलाई foster care मा राख्ने प्रस्ताव आएको थियो।
त्यस समयमा केलीले विभिन्न पेशागत तथा फेसनसम्बन्धी अवसरसमेत पछ्याइरहेकी थिइन्। पेरिससहित केही फेशन वीक (Fashion Week) कार्यक्रममा सहभागी हुने योजना पनि थियो।
तर दुई बालबालिका आफ्नो परिवारमा आउन लागेपछि उनलाई ती अवसरभन्दा परिवार महत्वपूर्ण हुन थालेको महसुस भयो। उनले आफ्ना सपना छाड्नुपर्ने हो कि भन्ने प्रश्न गर्न थालेकी थिइन्।
त्यही बेला उनका पति र परिवारले उनलाई वर्षौंदेखि अरूलाई दिँदै आएको सन्देश आफ्नै जीवनमा लागू गर्न सम्झाए – जीवन बदलिँदैमा सपना छाड्नुपर्दैन।
परिवारको त्यही साथले आफूलाई परिवार, पेशा र व्यक्तिगत सपना एकसाथ अघि बढाउन सकिने विश्वास दिएको उनले पिपुल म्यागजिन सँग बताएकी छन्।अन्ततः त्यही यात्राले उनलाई मिस युएसए को ताजसम्म पुर्यायो।

Justus Kelley traveled to Miami for Miss USA with her belongings in trash bags.
Image Courtesy : Justus Anye / Instagram
फोहोरको झोला बोकेर मिस युएसए
मिस युएसएको फाइनल सुरु हुनुअघि नै केली एउटा असामान्य कारणले चर्चामा आएकी थिइन्। मायामी पुग्दा उनले आफ्ना केही सामान कालो फोहोरको झोलामा राखेर लगेकी थिइन्। तर त्यो सामान राख्ने झोला नभएर एउटा सन्देश थियो।
Foster parent का रूपमा केलीले एक घरबाट अर्को घर सर्ने क्रममा कतिपय बालबालिकाले आफ्ना कपडा र व्यक्तिगत सामान फोहोरको झोलामा बोकेर आउनुपर्ने अवस्था देखेकी थिइन्।
त्यसैले उनले मिस युएसए जस्तो ठूलो मञ्चलाई त्यही समस्यातर्फ ध्यान खिच्ने माध्यम बनाइन्। उनको सन्देश थियो – फोहोरको झोला कुनै बालबालिकाको सुटकेस बन्नु हुँदैन।
केली र उनका पति करिब दुई वर्षदेखि भर्जिनियामा licensed foster parents हुन्। उनीहरूले सात महिनाका शिशुदेखि १० वर्षसम्मका बालबालिकाको हेरचाह गरिसकेका छन्। हाल उनीहरूले एक सानो बालक र उनकी दिदी गरी दुई दाजुबहिनीलाई आफ्नो घरमा foster care दिइरहेका छन्।
उनले foster youth र उनीहरूका परिवारलाई सहयोग गर्ने उद्देश्यले Foster Footprints नामक संस्था पनि स्थापना गरेकी छन्। संस्थाले Washington D.C., Maryland र Virginia क्षेत्रका foster care सँग जोडिएका बालबालिका तथा परिवारलाई सहयोग गर्ने काम गर्छ।
Community Health देखि St. Jude सम्म
केलीको शैक्षिक तथा पेशागत यात्रा पनि समुदाय र बालबालिकाको सेवासँग जोडिएको छ। उनले Indiana University बाट Community Health मा स्नातक र Public Health Administration मा स्नातकोत्तर तहको अध्ययन गरेकी छन्। विश्वविद्यालयको Alumni Association का अनुसार उनले सन् २०१७ मा स्नातक र सन् २०१९ मा MPH पूरा गरेकी हुन्।
हाल उनी St. Jude Children’s Research Hospital सँग जोडिएको परोपकारी क्षेत्रमा senior philanthropic adviser का रूपमा कार्यरत छिन्। केली र टाइलरको भेट कलेज पढ्दादेखि नै भएको थियो। सम्बन्धको सुरुवाती समयमै दुवैले भविष्यमा foster parenting गर्ने चाहना एकअर्कासँग साझा गरेका थिए।

Miss Georgia USA Savannah Miles lent Justus Kelley a portion of one of her outfits.
image Source: savannahmiles / Instagram
९.९९ डलरको कपडा
केलीले चुनौती दिएको अर्को मान्यता हो – सौन्दर्य प्रतियोगिता जित्न महँगो डिजाइनर ड्रेस (designer wardrobe) नै चाहिन्छ भन्ने सोच। उनी लामो समयदेखि thrifted, borrowed र secondhand fashion प्रयोग गर्दै आएकी छन्।
एक राज्यस्तरीय प्रतियोगितामा उनले Goodwill बाट केवल ९.९९ डलरमा किनेको सुट लगाएकी थिइन्। उनलाई देख्ने निर्णायकहरूले पोशाकको प्रशंसा गर्दा त्यसको मूल्य सुनेर आश्चर्यमा परेको अनुभवसमेत उनले सुनाएकी छन्।
उनका लागि secondhand fashion केवल वातावरणीय sustainability को विषय होइन। यो accessibility अर्थात् आर्थिक पहुँचको विषय पनि हो।
सौन्दर्य प्रतियोगितामा सफल हुन हजारौँ डलर खर्च गर्नैपर्छ भन्ने सन्देश गलत रहेको उनको धारणा छ। आर्थिक अवस्था जस्तो भए पनि सिर्जनात्मक ढंगले कपडा खोजेर महिलाले प्रतिस्पर्धा गर्न सक्नुपर्ने उनको तर्क छ।
मिस युएसए २०२६ जित्दा उनले लगाएको आकर्षक गुलाबी feathered cape समेत नयाँ थिएन। पूर्व Miss Georgia USA, Savannah Miles ले प्रयोग गरिसकेको पिस थियो, जसलाई केलीले आफ्नो फाइनल लुकमा पुनः प्रयोग गरेकी थिइन्।
तर उनले लगाएको मुख्य गाउन भने सेकेन्ड ह्यान्ड थिएन। त्यो एक डिजाइनरबाट प्रायोजनमा प्राप्त भएको थियो।
यसरी हजारौँ डलर खर्च नगरी पनि राष्ट्रिय सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठूलो ताज जित्न सकिन्छ भन्ने आफ्नो सन्देशलाई केलीले आफ्नै जितबाट प्रमाणित गरिन्।
सन् १९५७ को एउटा फरक कथा
केलीलाई मिस युएसए जित्ने पहिलो विवाहित आमा भनिँदा प्रतियोगिताको इतिहासमा रहेको एउटा रोचक तर दुःखद प्रसंग भने छुटाउन मिल्दैन। सन् १९५७ मा Mary Leona Gage ले मिस युएसएको ताज जितेकी थिइन्।
तर ताज जितेको केही समयपछि उनी वास्तवमा १८ वर्षकी, विवाहित र दुई छोराकी आमा भएको खुलासा भयो। त्यतिबेला विवाह र मातृत्व दुवै प्रतियोगिताको नियमविपरीत थिए। उनले आफ्नो उमेरसमेत २१ वर्ष बताएकी थिइन्।
परिणामस्वरूप आयोजकले भोलिपल्टै उनको ताज खोस्यो र पहिलो रनरअप Utah की Charlotte Sheffield लाई Miss USA 1957 घोषित गरियो।
त्यसैले केलीको ऐतिहासिक उपलब्धिलाई अझ सटीक रूपमा भन्नुपर्दा उनी विवाहित र आमा भएर पनि आधिकारिक रूपमा मान्यता प्राप्त गर्दै मिस युएसएको ताज कायम राख्ने पहिलो महिला हुन्।
करिब सात दशकअघिको त्यो घटना र केलीको वर्तमान जितबीचको भिन्नताले सौन्दर्य प्रतियोगितामा महिलालाई हेर्ने दृष्टिकोण कति बदलिएको छ भन्ने देखाउँछ।
त्यतिबेला पत्नी र आमा भएको कारण एउटी महिलाको ताज खोसिएको थियो। आज त्यही वैवाहिक र मातृत्वको पहिचानसहित एउटी महिला इतिहास रच्दै ताज लगाइरहेकी छन्।
लक्ष्य Miss Universe 2026
मिस युएसएको ताजपछि केलीको अर्को यात्रा विश्व मञ्चतर्फ हुनेछ। उनले अब अमेरिकाको प्रतिनिधित्व गर्दै Miss Universe 2026 मा प्रतिस्पर्धा गर्नेछिन्।
मिस युनिभर्सको ७५औँ वार्षिकोत्सव संस्करण Puerto Rico को San Juan मा हुँदैछ। आयोजकका अनुसार ग्रान्ड फाइनल नोभेम्बर २४, २०२६ मा Coliseo de Puerto Rico José Miguel Agrelot मा आयोजना हुनेछ।
त्यसअघि नोभेम्बर २१ मा National Costume Show र नोभेम्बर २२ मा Preliminary Competition आयोजना गर्ने कार्यक्रम छ। यो विशेष संस्करणमा करिब १३० देशका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
केली Puerto Rico पुग्दा उनले अमेरिकाको sash मात्र बोकेर जाने छैनन्। उनको साथमा foster care को कथा, महिलाका लागि आर्थिक रूपमा पहुँचयोग्य pageantry को सन्देश र विवाह तथा मातृत्वपछि पनि सपना पछ्याउन सकिन्छ भन्ने उदाहरण हुनेछ।

