आफन्त गुमाउँदा पनि रोकिइनन् रजनी केसी, बाढीपीडितलाई राहत र स्वास्थ्य सेवामा सक्रिय

अभिनेत्री तथा फार्मेसिस्ट रजनी केसीले नुवाकोटका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकी छन्। करिब साढे दुई सय बिरामीले सेवा लिएको शिविरमा औषधि, खाद्य सामग्री, लत्ताकपडा र बालबालिकाका लागि शैक्षिक तथा खेल सामग्रीसमेत वितरण गरिएको थियो।

अभिनेत्री तथा फार्मेसिस्ट रजनी केसीले नुवाकोटका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकी छन्। बिहीबार विदुर नगरपालिका, टारमा आयोजित शिविरमा करिब साढे दुई सय बिरामीले स्वास्थ्य सेवा लिएको उनले जानकारी दिएकी छन्।

काठमाडौंमा रहेका डा. सुदिप पण्डितसहितको स्वास्थ्य टोली लिएर आफ्नो जन्म जिल्ला पुगेकी रजनीले बाढीपीडितको निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधिसमेत वितरण गरेकी हुन्। पिपल डेन्टल कलेज एण्ड हस्पिटल प्रालिसँगको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो।

फार्मेसिस्टसमेत रहेकी रजनी बाढी आएको दिनदेखि नै पीडितको उद्धार, राहत संकलन तथा वितरणमा सक्रिय रहँदै आएकी छन्।

स्वास्थ्य शिविरसँगै पीडितलाई खाद्य सामग्री, लत्ताकपडा र सरसफाइका सामग्री वितरण गरिएको थियो। बालबालिकालाई कापी, पेन्सिल, किताब र ड्रइङ बुकका साथै मनोवैज्ञानिक राहतका लागि खेल्ने सामग्रीसमेत उपलब्ध गराइएको उनले बताइन्।

नुवाकोटको टुप्चे स्थायी घर भएकी रजनी भदौ १० गते आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी, उद्धार र राहत कार्यमा निरन्तर खटिएकी थिइन्। बाढीका कारण सोले बजारबाट आफ्नी मावली हजुरआमा, माइजू, भाइ, बुहारीलगायत थुप्रै आफन्त गुमाएकी रजनीले व्यक्तिगत पीडाका बीच पनि उद्धार तथा राहतको कामलाई निरन्तरता दिएकी हुन्।

उनको निरन्तर प्रयासबाट केही पीडितको उद्धारसमेत सफल भएको थियो। स्थानीय आशीष रिजाललगायत सहयोगीहरूको साथले बाढीबाट अत्यन्त प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न सम्भव भएको रजनीले बताइन्।

बाढीपीडितमध्ये धेरैले अझै अत्यावश्यक राहत सामग्री र औषधोपचार पाउन नसकेको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको उनको भनाइ छ।

आफ्नो जन्मभूमिमा ठूलो मानवीय क्षति र विस्थापन देख्दा आफू गहिरो पीडामा रहेको बताउँदै रजनीले सहयोगका लागि सबैसँग अपिल गरेकी छन्। उनले भनेकी छन्, ‘यो कुनै एउटा ठाउँको मात्रै पीडा होइन, सारा नेपाली,सारा विश्व दुखी छ । त्यसैले सबैले हृदय खोलेर सहयोग गर्नुस प्लीज।’

‘परदेशी’ जस्तो ब्लकबस्टर फिल्मबाट परिचित रजनीको नयाँ फिल्म ‘छ माया छपक्कै २’ यही दशैंमा प्रदर्शन हुँदैछ। अभिनयसँगै उनी फार्मेसिस्ट, योग–ध्यान प्रशिक्षक, व्यवसायी तथा समाजसेवीका रूपमा पनि सक्रिय छिन्।

SUBSCRIBE 👉