
Rohit Adhikari Lines Up New Films With Anmol KC and Paul Shah
निर्माता रोहित अधिकारी नेपाली फिल्मका चर्चित स्टार कलाकारसँग लगातार सहकार्य गर्ने तयारीमा देखिएका छन्। अभिनेता अनमोल केसीसँग नयाँ फिल्मका लागि सम्झौता गरिसकेका रोहितले अब पल शाहलाई मुख्य भूमिकामा लिएर अर्को फिल्म निर्माणको तयारीसमेत अघि बढाएका छन्।
रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने दुई फरक फिल्ममा अनमोल केसी र पल शाह मुख्य भूमिकामा देखिने भएका हुन्। यससँगै रोहितको आगामी फिल्म यात्रामा नेपाली फिल्मका दुई लोकप्रिय स्टार जोडिएका छन्।
रोहितले यसअघि निर्माण गरेको सफल फिल्म ‘फर्की फर्की’को सिक्वेलमा अनमोल केसीलाई दोहोर्याउने तयारी गरेका छन्। अनमोलसँग सम्झौता भइसकेको छ भने फिल्म निर्देशनका लागि सुयोग गुरुङ पनि अनुबन्धित भइसकेका छन्।
सिक्वेलको नाम ‘फर्की फर्कीः बियोन्ड टाइम’ राखिएको छ। निर्माता रोहित अधिकारीका अनुसार फिल्ममा अनमोलसँगै अभिनेत्री जसिता गुरुङको जोडीलाई पनि निरन्तरता दिइनेछ। फिल्मको निर्मातामा शोभा ढकाल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी रहनेछन्।

Actor Anmol KC
अनमोल हाल ‘ए मेरो हजुर ५’को छायांकनमा व्यस्त छन्। त्यसपछि उनले रौनक विक्रम कडेलको निर्माणमा बन्ने अर्को फिल्ममा काम गर्नेछन्। उक्त फिल्मपछि मात्रै ‘फर्की फर्कीः बियोन्ड टाइम’को छायांकन सुरु गर्ने तयारी गरिएको छ।
अनमोलसँगको सहकार्यलाई निरन्तरता दिइरहेका रोहितले अर्का लोकप्रिय अभिनेता पल शाहलाई लिएर पनि नयाँ फिल्म निर्माण गर्ने तयारी गरेका छन्। पलसँग फिल्मका विषयमा मौखिक सहमति भइसकेको र औपचारिक सम्झौता हुन बाँकी रहेको रोहितले बताएका छन्।
पल अहिले ‘यानीमाया’मा व्यस्त छन्। दशैंमा रोहित अधिकारी र दीपकराज गिरी–दीपाश्री निरौलाको सहकार्यमा निर्माण भएको ‘छ माया छपक्कै २’ प्रदर्शनमा आएपछि ‘यानीमाया’को छायांकनसमेत सकिनेछ। त्यसलगत्तै पलसँग औपचारिक सम्झौता गरेर पुसको पहिलो सातादेखि नयाँ फिल्मको छायांकन सुरु गर्ने तयारी रोहितको छ।

Actor Paul Shah
फिल्ममा पलको जोडीका रूपमा कुन अभिनेत्री रहने भन्ने टुंगो लागिसकेको छैन। अभिनेत्रीको खोजी जारी छ। यद्यपि, ‘फर्की फर्की’मा अनमोल केसीसँग जसिता गुरुङको जोडीलाई दर्शकले रुचाएकाले रोहितको नयाँ फिल्ममा जसिता नै पलको जोडी बन्न सक्ने सम्भावनालाई पनि नकारिएको छैन।
रोहितको योजनाअनुसार पहिले पल शाह अभिनीत फिल्मको छायांकन हुनेछ। त्यसपछि अनमोल केसीलाई लिएर ‘फर्की फर्कीः बियोन्ड टाइम’ निर्माणमा जाने तयारी छ।
स्टार कलाकार, चर्चित निर्देशक र सफल फिल्मको सिक्वेललाई प्राथमिकतामा राख्दै रोहितले आफ्नो आगामी फिल्म लाइनअपलाई महत्वाकांक्षी बनाएका छन्। ‘गाजलु’, ‘छ माया छपक्कै’, ‘फर्की फर्की’, ‘माइतीघर’ र ‘छ माया छपक्कै २’ हुँदै थप दुई फिल्मको तयारीसम्म आइपुग्दा रोहित अधिकारी नेपाली फिल्म उद्योगमा सक्रिय व्यावसायिक निर्माताका रूपमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउँदै गएका छन्।

