ओस्कर, कान्सलगायत ठूला फिल्म फेस्टिभलका मिति पछाडि धकेलिदै


विश्व प्रख्यात ‘कान्स’ फिल्म फेस्टिभलको मिति अनिश्चितकालका लागि पछाडि धकेलिएको छ। कान्स मात्रै होइन, कोभिड–१९ को महामारीले विश्वभरका फिल्म फेस्टिभललाई असर पर्ने भएको छ। फिल्मकर्मीबीच प्रख्यात एकेडेमी अवार्ड (ओस्कार २०२१)को मिति पनि पछाडि धकेलिने चर्चा चल्न थालेको छ। हुन त एकेडेमीको ९३ औं संस्करण आगामी फेब्रुुअरी २८ मा तय भएको छ। कोरोना महामारीले गर्दा २०२० मा फिल्मको रिलिज ठप्प भएसँगै एकेडेमीको मिति निर्धारित समयभन्दा चार महिना पछाडि धकेलिने चर्चा चुुलिएको हो।

हालै एकेडेमीले अनलाइन स्ट्रिमिङ भएको फिल्मले पनि ओस्कारमा भाग लिन पाउने नियम बनाएको छ। फिल्म अवार्डहरुको हालत पनि उस्तै छ। फिल्म फेस्टिभलको हकमा भने कतिले फेस्टिभलको मिति पछाडि सारेका छन् त कतिले अनलाइन माध्यमबाट फेस्टिभल आयोजना गरेका छन्। भारतमा ह्याबिट्याट इन्टरनेसल फिल्म फेस्टिभल (हिफ) मार्च २१ मा गर्ने तय भएको थियो। तर यो फेस्टिभललाई मे २१ तारिखमा सारिएको छ।

इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभल आम्स्टर्डम, इन्टनेस्नल फिल्म फेस्टिभल रोटर्डम र भारतको धर्मशाला फिल्म फेस्टभिल (डिफ)का आयोजकहरुले अनलाइनमै फेस्टिभल गर्ने अभ्यास गरेका छन्। अनलाइनमार्फत फेस्टिभलका फिल्महरु उनीहरुले दर्शकलाई देखाएका छन्। डिफले त फिल्म हेर्ने ‘भिविङ रुम’ नै लन्च गरेर उक्त वेबसाइटमार्फत आफ्ना विद्यार्थीहरुले बनाएको फिल्म देखाइरहेको छ। ‘लकडाउनले गर्दा धेरै फिल्मको प्रदर्शनमा असर पुग्यो। हामीले दर्शकलाई अनलाइन कन्टेन्टको आवश्यकता महसुस गरेर भिविङ रुम सुरु गरेका हौं। डिफमा भाग लिएका फिल्महरु पनि हामी देखाइरहेका छौं,’ फेस्टिभलको निर्देशक ऋतु सरिनले बताइन्।

दिल्लीको कृति फिल्म क्लबमा हरेक महिना एउटा डकुमेन्ट्री फिल्म देखाइन्थ्यो यसले पनि लकडाउनलाई मध्यनजर गरेर युट्युबमै फिल्म प्रदर्शन सुरु गरेको छ। अहिले फिल्म क्लब र फेस्टिभललाई ओटीटी (ओभर दि टप)सँग प्रतिस्पर्धा गर्न गाह्रो भएको क्लबकी संस्थापक आँचल कपुर बताउँछिन्। त्यस्तै, दिल्लीकै क्यारट फिल्मसले अनलाइन सर्ट फिल्म कन्टेस्ट, लकडाउन फेस्टिभलसमेत आयोजना गरेको छ। फेस्टिभलमा धेरैले सहभागिता जनाएका छन्। फेस्टिभलले नयाँ फिल्ममेकरलाई पनि सहभागी हुने अवसर दियो। फिल्ममेकरहरुले घरमै बनाएका सिर्जनाले फेस्टिभलमा प्रस्तुत गर्न पाए।

अहिलेको अवस्थामा अनलाइन स्क्रिनिङ उपयुक्त देख्छन्, फिल्मकर्मीहरु। अनलाइनमार्फत पनि फिल्म फेस्टिभल गर्न सकिने क्यारट फिल्म फेस्टिभलकी विद्याले भनिन् ‘यो माध्यम सुलभ र पहुँचमा छ।’

SUBSCRIBE 👉