नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘मास्टर क्लास’


‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ। सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आगामी बिहीवार, जेठ २५ देखि तीन दिने चलचित्र महोत्सव हुँदैछ। काभ्रेको भकुण्डेबेसीमा हुने महोत्सवमा तेस्रो दिन शनिवार लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ रहने आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिएका छन्। ग्रामीण फिल्मको विषयमा उनीहरूको ‘मास्टर क्लास’ हुने भएको हो।

उनका अनुसार ‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नाराका साथ हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्महरू सहभागी हुँदैछन्। आयोजकले आगामी बिहीवार मात्रै जुरी घोषणा गर्ने तयारी गरेको छ। ‘झिंगेदाउ’, ‘प्रकाश’, ‘डेसान’,’निरमाया’सँगै तामाङ र गुरुङ फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछ।

साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को प्रिमियर समेत महोत्सवमा हुने जनाइएको छ। स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ।

काठमाडौंबाट दुई दर्जन बढी फिल्मकर्मीहरू महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुग्नेछन्। चलचित्र विकास बोर्डसँगको सहकार्यमा यो महोत्सव हुन लागेको हो। गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा महोत्सव आयोजना गरिएको थियो।

SUBSCRIBE 👉