१.५१ करोड अमेरिकी डलर पर्ने जुत्ता, के छ त विशेषता ?


बेलायती डिजाइनर डेबी विङहमले विश्वकै सबैभन्दा महंगो जुत्ता तयार पारेकी छिन्। हाई हिल भएको जुत्तामा बहुमूल्य धातु र दुर्लभ ढुंगाहरु जडान गरिएको छ। यसको मूल्य $ १.५१ करोड अमेरिकी डलर राखिएको छ। विङहम यस्तै महंगो डिजाइनहरुका लागि चर्चित छिन्। उनले विभिन्न सेलेब्रिटी, राजपरिवार र धनाढ्यहरुका लागि काम गर्ने गरेकी छिन्।

यसअघि उनले विश्वकै सबैभन्दा महङ्गो लुगा बनाएकी थिइन्। ‘रेड डाइमण्ड अबाया गाउन’ मा २ हजारभन्दा बढी हिरा जडित थियो भने विश्वकै महंगो मानिने रातो हिरा पनि जडान गरिएको थियो। यसको मूल्य $ १.५४ करोड अमेरिकी डलर राखिएको थियो। विङहमको कोटर टु केक्स नामक बेकिङ कम्पनी पनि छ। उनले एक युएईको ग्राहकका लागि ६.४ करोड अमेरिकी डलर पर्ने केक बनाएकी थिइन्।

विङहमको पछिल्लो सृजना फ्लोरिडाका कलाकार क्रिस क्यामबेलसँगको संयुक्त प्रयासमा निर्माण गरिएको हो। विङहमले जुत्ताको डिजाइन तयार पारेकी थिइन् भने क्यामबेलले त्यसको निर्माण गरेका थिए। यो जुत्ता तयार गर्न १ सय घण्टाभन्दा बढी समय लागेको बताइएको छ। जुत्तामा तीनवटा दुर्लभ गुलाबी हिरा र एउटा एक क्यारेटको निलो हिरा राखिएको छ। यिनीहरु एउटैको १२.८ लाख अमेरिकी डलर पर्छ। यसको साथै जुत्तामा चार वटा तीन क्यारेटको हिरा र १ हजार प्वाइन्टर हिरा रहेको।

यस जुत्ताको चेन र सोल सुनको छ। छालामा २४ क्यारेटको सुन स्प्रे गरिएको छ भने यो जुत्ता सिलाउन १८ क्यारेटको सुनको धागो प्रयोग गरिएको छ। यो जुत्ता दुबईका एक ग्राहकले जन्मदिनका लागि बनाउन अर्डर दिएको विङहमले बताइन्।

SUBSCRIBE 👉