फिल्म निर्माण गर्दै श्याम


Shyam-Aaryalग्ल्यामर नेपाल, काठमाडौं ।
पछिल्लो समयमा फिल्म पत्रकारहरु फिल्म निर्माण र निर्देशनमा व्यस्त हुन थालेका छन् । डब्बु क्षेत्री, लक्ष्मण सुवेदी र सुब्रत आचार्य निर्देशकका रुपमा आइरहँदा अर्का सञ्चारकर्मी श्याम अर्याल चाहिँ निर्माताका रुपमा दर्शकमाझ देखा पर्ने भएका छन् ।

विभिन्न फिल्ममा अभिनेता र सहअभिनेताका रुपमा आफ्नो अभिनय क्षमता देखाइसकेका श्यामले मिजल पिक्चर प्रोडक्सन नामक फिल्म प्रोडक्सन कम्पनी खोली निर्माताका रुपमा अघि बढ्न लागेका हुन् । उनले ‘द युगदेखि युगसम्म’, ‘आइ एम सरी’ र ‘प्रोड्युसर’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । श्यामको व्यानरमा पहिलो चरणमा दुई फिल्म निर्माण गर्ने भएको छ ।

सोसियल ड्रामा फ्लेबरको पहिलो फिल्मको निर्देशन अनुप गिरीले निर्देशन गर्नेछन् । ‘यसै क्षेत्रमा यत्रो समय बिताइयो अब फिल्म वितरणसंगै निर्माण गर्ने सोचका साथ आउँदैछु ।’ श्यामले भने । पहिलो फिल्मको निर्माताका रुपमा रतन थापा रहनेछन् भने श्याम प्रस्तुतकर्ता हुनेछन् । फिल्ममा श्याम भने देखिने छैनन् । उनका अनुसार फिल्मको छायांकन चैत्रबाट शुरु हुँदैछ ।

यो व्यानरले निर्माणका अलावा खाडी राष्ट्रमा फिल्म पनि वितरण गर्नेछ । पहिलो चरणमा ‘कोहिनुर’, ‘नोभेम्बर रेन’ र ‘स्टुपिड मन’ वितरण गर्ने सोचमा रहेको श्यामले बताए । नेपालमा ऐतिहासिक रेकर्ड राख्न सफल स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित अन्तिम फिल्म ‘कोहिनुर’ को प्रदर्शन फेब्रुअरी को १३ तारिखमा दुबईमा हुनेछ । उनका अनुसार यो फिल्म त्यहाँ अरबी भाषामा सबटाइटल गरेर प्रदर्शन गरिनेछ । दुबईसंगै जापान, अष्ट्रेलिया, कतार, हङकङलगायतका देशमा फिल्म प्रदर्शन गर्ने मिजल पिक्चर्सले यी देशमा कन्सर्ट पनि गर्नेछ ।