समीर र कृशुको नृत्यले सजियो ‘जुनेली’, ‘१२ गाउँ २’ को पहिलो गीत सार्वजनिक

‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। सुगम पोखरेलको स्वर रहेको भिडियोमा समीर भट्ट र कृशु शाही ‘काफिया’को नृत्य तथा ब्रेकडान्स मुख्य आकर्षण बनेको छ।

अभिनेता विराज भट्ट निर्देशित बहुप्रतिक्षित नेपाली सिनेमा ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’ फिचर्ड गीतको भिडियोमा उनीहरूको नृत्यसँगै ब्रेकडान्सलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।

सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार भएको भिडियोमा समीर र कृशुको अनस्क्रिन जोडीलाई ऊर्जावान नृत्य शैलीमा देखाइएको छ। लामो समयपछि नेपाली सिनेमाको गीतमा ब्रेकडान्सलाई प्रमुख रूपमा प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ।

‘जुनेली’मा युग भुसालको शब्द तथा संगीत छ भने सुगम पोखरेलले स्वर दिएका छन्। फिल्मको फर्स्टलुक पोस्टरपछि सार्वजनिक भएको पहिलो गीतले ‘१२ गाउँ २’ को प्रचारलाई थप गति दिएको छ।

बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको फिल्मको कथा सन्तोष सरकारले लेखेका हुन्। महेश पौडेलले छायांकन गरेको फिल्ममा सरस्वती भट्टको लगानी छ। फिल्म आगामी असोज ३० गते दशैंको फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आउँदैछ।

‘१२ गाउँ २’ मा समीर भट्ट र कृशु शाहीसँगै विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय छ।

यसै फिल्मबाट कृशु शाही ‘काफिया’ र वर्षा इटनीले नेपाली रजतपटमा अभिनय यात्रा सुरु गर्दैछन्।

फिल्ममा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन तथा रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन छ। स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन्।

फिल्मको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।

SUBSCRIBE 👉