पशुपतिनाथबाट सुरु भयो ‘ए मेरो हजुर ५’को छायांकन, अनमोल–सुहाना तेस्रोपटक एकसाथ

‘ए मेरो हजुर ५’को नियमित छायांकन पशुपतिनाथ परिसरबाट सुरु भएको छ। झरना थापा निर्देशित फिल्ममा अनमोल केसी र सुहाना थापा तेस्रोपटक एकसाथ देखिँदैछन् भने झरना स्वयं पनि अभिनयमा फर्किंदैछिन्।

फिल्म ‘ए मेरो हजुर ५’को नियमित छायांकन पशुपतिनाथ परिसरबाट सुरु भएको छ। निर्देशक तथा अभिनेत्री झरना थापाका अनुसार फिल्मको पछिल्लो चरणको छायांकन २५ दिनको तालिकासहित अघि बढाइएको हो।

फिल्मले यसअघि नै ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा साउन २९ गते शुभमुहूर्त गर्दै छायांकन यात्रा सुरु गरेको थियो। यसअघि निर्माण टोलीले सुदूरपश्चिमका चर्चित पर्यटकीय क्षेत्र बडीमालिका र खप्तड राष्ट्रिय निकुञ्जबाट फिल्मको छायांकन अघि बढाउने तयारी गरेको थियो।

तर भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि छायांकन तालिका प्रभावित बनेको हो। त्यसपछि निर्माण टोलीले पशुपतिनाथ परिसरबाट नियमित छायांकन अगाडि बढाएको छ। फिल्मको केही भाग बाजुरामा समेत छायांकन गरिनेछ।

झरना थापाको निर्देशनमा बन्ने फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन्। यी दुई कलाकारको यो तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा सँगै अभिनय गरेका थिए। फिल्ममा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, नीरज पन्थी र आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ।

यसपटक झरनाको भूमिका निर्देशनमा मात्रै सीमित रहने छैन। ‘ए मेरो हजुर’को पहिलो श्रृंखलामा मुख्य भूमिकामा देखिएकी उनी करिब २५ वर्षपछि यही फ्रेन्चाइजमा अभिनेत्रीका रूपमा पनि फर्किंदै छिन्। उनको भूमिकाबारे भने निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

फिल्मको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका हुन्। रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मका गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर र एकदेव लिम्बूको संगीत रहनेछ।

यो फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्दैछन् भने सञ्जय लामाले छायांकन गरिरहेका छन्। साहिल खानको सम्पादन रहने फिल्मको संगीत संयोजन उदयराज पौडेलले गर्नेछन्।

फिल्मको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्। निर्माण पक्षले नेपाली नयाँ वर्ष २०८४ लाई फिल्मको देशव्यापी प्रदर्शन लक्ष्य बनाएको छ।

SUBSCRIBE 👉