‘जदौ’को ट्रेलर सार्वजनिक, अन्तरजातीय सम्बन्ध र विभेदको कथामा हाँसो, प्रेम र संवेदना

अन्जन शर्मा र काजी लिम्बू निर्देशित ‘जदौ’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मले अन्तरजातीय सम्बन्ध, जातीय विभेद र सामाजिक असमानताको कथा उठाएको छ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म ‘जदौ’को ट्रेलर सार्वजनिक गरिएको छ। करिब सवा दुई मिनेट लामो ट्रेलरले अन्तरजातीय सम्बन्धलाई लिएर नेपाली समाजमा अझै कायम विभेद, सामाजिक असमानता र त्यसबाट सिर्जना हुने द्वन्द्वलाई हाँसो, प्रेम र भावनात्मक उतारचढावसँग जोडेर प्रस्तुत गरेको छ।

ट्रेलरले फिल्मको मूल कथालाई भने रहस्यमै राखेको छ। केही दृश्यले प्रेम र सम्बन्धको कथा अगाडि ल्याउँदा अन्य दृश्यमा सामाजिक विभेद, पारिवारिक तनाव र भावनात्मक टकराव देखिन्छन्। निर्माण पक्षले ‘जदौ’लाई सामाजिक सन्देशसहितको मनोरञ्जनात्मक फिल्मका रूपमा प्रस्तुत गर्दै आएको छ।

फिल्मको कथा काजी लिम्बूले लेखेका हुन्।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अन्जन शर्माले नेपाली समाजमा अझै कायम जातीय विभेद तथा आर्थिक र सामाजिक रूपमा कमजोर समुदायमाथि हुने थिचोमिचोजस्ता विषयविरुद्ध फिल्ममार्फत आवाज उठाउने प्रयास गरिएको बताए।

उनका अनुसार ‘जदौ’ले नेपाली जनजीवनसँग जोडिएको मौलिक कथा बोकेको छ। फिल्मले दर्शकलाई मनोरञ्जन दिनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास उनले व्यक्त गरे।

अर्का निर्देशक तथा लेखक काजी लिम्बूले आफूहरूले लामो समयदेखि भन्न चाहेको कथालाई ‘जदौ’मार्फत पर्दामा ल्याएको बताए। उनका अनुसार यो केवल हेरेर मनोरञ्जन लिनेभन्दा पनि महसुस र मनन गर्नुपर्ने विषय बोकेको फिल्म हो।

अभिनेता मुकुन भुसालले ‘जदौ’मा आफूले विगतका फिल्मभन्दा फरक भूमिका र चरित्र निर्वाह गरेको बताए। अभिनेत्री नीति शाहले फिल्मका लागि निकै मेहनत गरेको उल्लेख गर्दै त्यसको परिणाम सुखद आउनेमा आफू आशावादी रहेको बताइन्।

अभिनेता प्रभात पाल ठकुरीले ‘जदौ’लाई आफ्नो करिअरका लागि महत्त्वपूर्ण फिल्मका रूपमा लिएका छन्। उनले दर्शकलाई फिल्म हेर्न आग्रह गरे।

कार्यक्रममा अभिनेत्री गीता अधिकारी र अभिनेता नरेश पौड्यालले पनि आफ्ना भूमिकाबारे चर्चा गरे। उनीहरूले फिल्म राम्रो बनेको र दर्शकबाट साथ पाउने विश्वास व्यक्त गरे।

कार्यकारी निर्मात्री शान्ति पुडासैनीले मेहनत र विभिन्न चुनौतीबीच फिल्म निर्माण सम्पन्न गरिएको स्मरण गर्दै दर्शकलाई ‘जदौ’ हेर्न आग्रह गरिन्।

निर्माता डिल्लीराज पोखरेलले फिल्मले मनोरञ्जनसँगै जातीय विभेदविरुद्ध आवाज उठाएको बताए। सामाजिक विषय उठान गर्ने यस्ता फिल्मलाई दर्शकबाट साथ मिल्नुपर्ने उनको भनाइ थियो।

फिल्मकी कन्सेप्ट डिजाइनर बिमला भण्डारीले पनि दर्शकलाई ‘जदौ’ हेर्न आग्रह गरिन्।

असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौड्याल, राजश्री थापा, विनोद न्यौपाने, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारको अभिनय छ।

फिल्मको छायांकन श्याम तामाङले गरेका छन् भने गीतका दृश्य नवराज उप्रेतीले खिचेका हुन्। राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता हुन्।

सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा शान्ति पुडासैनी कार्यकारी निर्मात्री छिन्। फिल्मलाई एनजिसिएन ग्रुपले वितरण गर्दैछ।

समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर…’ र प्रेमिल गीत ‘तिमीसँग नबोली…’ यसअघि सार्वजनिक भइसकेका छन्। फिल्मको टिजर पनि यसअघि नै सार्वजनिक गरिएको थियो।

ट्रेलर सार्वजनिक कार्यक्रममा ‘जदौ’को तर्फबाट गोलाप्रथामार्फत सात जना सञ्चारकर्मीलाई विभिन्न उपहारसमेत प्रदान गरिएको थियो।

SUBSCRIBE 👉