
Jadou Song ‘Timisanga Naboli’ Features Niti Shah and Prabhat Pal Thakuri in a Romantic Mood
प्रतीक्षित नेपाली फिल्म ‘जदौ’को नयाँ प्रेमगीत ‘तिमीसँग नबोली’ सार्वजनिक भएको छ। आइतबार हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा अभिनेत्री नीति शाह र अभिनेता प्रभात पाल ठकुरीलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ।
सुन्दर लोकेसनमा छायांकन गरिएको गीतले नीति र प्रभातबीचको प्रेमभावलाई पर्दामा आकर्षक ढंगले उतारेको छ। गीतमा किरण गजमेर र मनिषा सुनारको स्वर छ भने शब्द गोपाल लोहारले लेखेका हुन्। अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।
फिल्मको शीर्ष गीत ‘जदौ हजुर’ यसअघि नै सार्वजनिक भइसकेको छ। उक्त गीतले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले दोस्रो गीतका रूपमा ‘तिमीसँग नबोली’ सार्वजनिक गरेको हो। निर्माण पक्षले यो रोमान्टिक गीत पनि दर्शकको रोजाइमा पर्ने अपेक्षा गरेको छ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको ‘जदौ’ असोज ९ गते देशव्यापी प्रदर्शनमा आउँदैछ। अन्तरजातीय प्रेम सम्बन्धको विषय उठान गरिएको फिल्मको पटकथा निर्देशक लिम्बूले लेखेका हुन्।
यसअघि सार्वजनिक फिल्मको टिजरले दर्शकमाझ कौतुहलता बढाएको थियो। फिल्ममा नीति शाह र प्रभात पाल ठकुरीसँगै मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन ‘खबपु’, सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारको अभिनय छ।
फिल्मको छायांकन श्याम तामाङ र नवराज उप्रेतीले गरेका हुन्। राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल सहनिर्माता रहेको फिल्ममा सृजना शर्मा र मनिष शर्मा निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्माता छन्। बिमला भण्डारी प्रोडक्सन हेड हुन्।
‘जदौ’लाई एनजिसिएन ग्रुपले देशव्यापी वितरण गर्दैछ। फिल्म समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो।


