उमा फिल्म्सको ब्यानरमा नयाँ चलचित्र निर्माण हुने भएको छ। काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा नाम नतोकिएको चलचित्र बन्ने घोषणा गरिएको हो। चलचित्रमा नायक भूवन केसी र मोडल नम्रता योगी मुख्य भूमिकामा रहने पक्का भएको छ।
उमा वेवीले लगानी गर्ने चलचित्रमा सविर श्रेष्ठको निर्देशन रहनेछ। यही चलचित्रबाट निर्मात्री तथा कलाकार उमा वेवीकी छोरी सिवानी गिरी चलचित्र क्षेत्रमा पाईला चाल्दैछिन्। १६ वर्षीय यी सुन्दरी ‘मिस भारत वल्र्ड २०१६’को फस्ट रनरअप, मिस भारत सिक्किम २०१६ को विनर, मिस भारत हिमालया २०१६ को विजेता हुन्। सिवानीको जन्मदिनको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरिएको हो। चलचित्रमा शिव ढकालको छायांकन, सचिन सिंहको संगीत रहनेछ।
कार्यक्रममा बोल्दै सिवानीले विभिन्न सौन्दर्य प्रतियोगीता जितेपछि आफूलाई अभिनयले आकषिर्त गरेको बताइन्। उनले आमा र हजुरआमाको प्रेरणाले यो क्षेत्रमा आउन लागेको जानकारी दिइन्। निर्मात्री उमा वेवीले आफूले छोरीको ट्यालेन्ट देखेरै चलचित्रमा भित्राउन लागेको बताइन्।
चलचित्रका लागि नव-नायकको भने खोजी भईरहेकोछ। निर्देशक सविर श्रेष्ठले चलचित्रमा नयाँ अनुहार खोजिएकाले काम गर्न रुची भएका यूवकले सम्पर्क गर्न सक्ने बताए।