अभिनेता, निर्माता तथा निर्देशक निखिल उप्रेतीको कम्पनि ‘दि निखिल उप्रेती प्रोडक्शन’ले चलचित्र ‘रुद्र’ निर्माण गर्ने घोषणा गरेको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच निखिलले आफ्नै लगानी रहने गरी चलचित्र ‘रुद्र’ घोषणा गरेका हुन्।
चलचित्रमा निखिल भिलेनका रुपमा देखिने छन्। निखिलले आफुलाई खलपात्रहरु मन पर्ने भन्दै पहिलो पटक भिलेन बन्न लागेकोमा खुशी ब्यक्त गरे। यो चलचित्रबाट अभिनेतामा नयाँ अनुहार मोडल विश्व शर्मा र अभिनेत्रीमा युके बस्दै आएकी साराले नेपाली फिल्मी क्षेत्रको यात्रा थालनी गर्दै छन्।
रामजी लामिछानेको निर्देशन रहने चलचित्र एक्शन लभस्टोरी जनरामा निर्माण हुन लागेको हो। चलचित्रको सुटिंग जोमसोम, कर्णाली, कोहलपुर र नारायणगढका स्थानहरुमा गरिने बताईएको छ। सौरभ लामाको छायाँकन रहेन चलचित्रलाई गोपाल कायस्थले वितरण गर्नेछन् भने फिल्म अर्को बर्षको श्रावणमा प्रदर्शनमा आउने बताईएको छ।
चलचित्रमा निखिल, विश्व र सारा सँगै रोय दिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतको अभिनय रहनेछ।