
अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ। काठमाडौँ आसपास छायाङ्कन गरिएको यो फिल्म वितरक र प्रदर्शकसँगको सल्लाहपछि असोजमा रिलिज गर्ने निर्णय गरिएको हो।
निर्देशक योञ्जनका अनुसार ‘कुस्ती’ यस्तो प्रेम कथा हो, जहाँ दुई पात्र एकअर्काबाट टाढा बस्न पनि सक्दैनन् र सँगै रहन पनि संघर्ष गर्छन्। प्रेम, भावनात्मक द्वन्द्व र हल्का हास्य मिसिएको यो फिल्मलाई प्रेम–कमेडी ड्रामाको रूपमा प्रस्तुत गरिएको छ।
फिल्ममा धिरज मगर र मिरुना मगर मुख्य भूमिकामा छन्। उनीहरूको जोडीलाई पर्दामा हेर्न दर्शक निकै उत्साहित देखिएका छन्। साथै पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसी लगायतका कलाकारको पनि सशक्त अभिनय रहेको छ।
यस फिल्ममार्फत ‘मिस इन्डिया २०२६’ टप १५ र ‘मिस मल्टिमिडिया’ विजेता दिकिला शेर्पाले नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दैछिन्। उनले सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जितेकी थिइन्। एमटीभीको रियालिटी शो ‘स्प्लिट्सभिल्ला’बाट चिनिएकी दिकिलाको आगमनले फिल्ममा थप आकर्षण थपिएको छ।
फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनका लागि समेत प्रस्तावहरू आइरहेका छन् र केही देशसँगको सम्झौता अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ।
यो पनि पढ्नुहोस् : पूर्व मिस नेपालनिकिता चाण्डक अभिनित नेटफ्लिक्स वेब सिरिज ‘ग्लोरी’
