
Swastima and Samaira from the set of Nepali Movie Lalibazar
नेपाली फिल्म ‘लालीबजार’ अन्ततः प्रदर्शनमा आउने भएको छ। उच्च अदालत पाटनले फिल्मको प्रदर्शनमा लगाइएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि रिलिजको बाटो खुलेको हो।
बुधबार न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि दिएको रोकलाई कायम नराख्ने निर्णय गरेको हो। यससँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले फिल्म वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने जनाएको छ।
निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्म कुनै समुदाय वा वर्गलाई लक्षित गरेर बनाइएको होइन। उनले आमा–छोरीको सम्बन्ध र संघर्षको कथा प्रस्तुत गरिएको बताए। “छोरीका लागि आमाले गर्ने त्याग र संघर्ष हाम्रो फिल्मको मुख्य विषय हो,” उनले भने।
निर्देशक यम थापाले पनि फिल्मबारे उठेका विवादलाई अनुमानमा आधारित बताएका छन्। “फिल्म हेरेपछि कसैको भावना आहत हुँदैन,” उनले दाबी गरे।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे लगायत कलाकारको अभिनय रहेको छ। साथै विशाल देवकोटा र प्रशंसा सुवेदीले यसै फिल्मबाट डेब्यु गरेका छन्।
विशाल देवकोटा रंगमञ्चमा सक्रिय कलाकार हुन् भने प्रशंसा सुवेदी नयाँ पुस्ताकी उदाउँदी अभिनेत्रीका रूपमा चिनिन्छिन्। निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेको पटकथा र संवादले फिल्मलाई अझ मजबुत बनाएको बताइएको छ।
विवादका कारण चर्चामा आएको ‘लालीबजार’ अब दर्शकमाझ कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ।
यो पनि पढ्नुहोस्: फिल्म ‘लालीबजार’माथि कानुनी झमेला: उच्च अदालत पाटनले सेन्सर फाइल झिकाउन दियो आदेश
