सौर्या सरला श्रेष्ठ र बिना लिम्बूलाई मिस एण्ड मिसेस युनिभर्सल नेपाल २०२६ को ताज

मिस एण्ड मिसेस युनिभर्सल नेपाल २०२६ सिजन ५ मा सौर्या सरला श्रेष्ठले मिसतर्फ प्लेटिनम र बिना लिम्बूले मिसेसतर्फ प्लेटिनम उपाधि जितेका छन्। प्रतियोगितामा १९ जनाको सहभागिता रहेको थियो।

अल्टिमा प्रोफेसनल मिस एण्ड मिसेस युनिभर्सल नेपाल २०२६ को पाँचौं सिजन काठमाडौंमा सम्पन्न भएको छ। मिस र मिसेस विधाका १९ प्रतियोगी सहभागी कार्यक्रमले सौन्दर्यसँगै आत्मविश्वास, प्रतिभा, व्यक्तित्व र व्यक्तिगत पहिचानलाई प्राथमिकतामा राखेको थियो।

प्रतियोगिताको मिसतर्फ सौर्या सरला श्रेष्ठले मिस युनिभर्सल नेपाल २०२६ प्लेटिनमको उपाधि जितिन्। उनले पब्लिक चोइस, मिस कन्जेनियलिटी र ट्यालेन्ट उपाधिसमेत आफ्नो नाममा पार्दै सिजनकी सर्वाधिक चर्चित विजेतामध्ये एक बनिन्।

मिसेसतर्फ बिना लिम्बूले मिसेस युनिभर्सल नेपाल २०२६ प्लेटिनमको ताज जितिन्। उनले मिसेस फोटोजेनिक अवार्डसमेत प्राप्त गरिन्।

रोजी थापा मिसेस युनिभर्सल नेपाल २०२६ डायमन्ड घोषित भइन्। उनले बेस्ट वाक र मिसेस ट्यालेन्ट अवार्ड पनि जितिन्।

अनुसुया श्रेष्ठले मिसेस युनिभर्सल नेपाल २०२६ गोल्ड उपाधिसँगै मिसेस इन्टेलेक्चुअल अवार्ड प्राप्त गरिन्।

पुजा बीकेले मिसेस युनिभर्सल नेपाल २०२६ सिल्भर उपाधि जित्दै मोस्ट डेडिकेटेड अवार्डसमेत हात पारिन्। उनको प्रतिबद्धता, निरन्तरता र प्रतियोगिताप्रतिको समर्पणलाई उक्त अवार्डमार्फत सम्मान गरिएको थियो।

सिता पोखरेलले पब्लिक चोइस उपाधिसँगै मोस्ट कन्फिडेन्ट मिसेसको सम्मान प्राप्त गरिन्।

स्पार्कल इन्टरटेनमेन्टको ब्यानरमा नितु श्रेष्ठले आयोजना गरेको कार्यक्रम काठमाडौंको तीनकुनेस्थित रोयल म्याजेस्टिक इभेन्ट्स एण्ड रेस्टुरेन्ट प्रा.लि.मा सम्पन्न भएको थियो। कार्यक्रमको प्रोजेक्ट चेयरपर्सन प्रेम बहादुर कार्की रहेका थिए।

फेसन कोरियोग्राफर तथा मिडिया पर्सनालिटी रोजिन शाक्यले प्रतियोगिताको कोरियोग्राफी तथा सञ्चालन गरेका थिए। रनवे प्रस्तुति, प्रतिभा र व्यक्तित्वमा आधारित विभिन्न चरणमार्फत प्रतियोगीहरूले आफ्नो क्षमता प्रस्तुत गरेका थिए।

निर्णायक मण्डलमा उषा खड्गी, एनके सरद, सुरज गराच, राजेश घिमिरे र प्रवन भुसाल सहभागी थिए भने तृप्ति नाडकरले चिफ जुरीको जिम्मेवारी सम्हालेकी थिइन्।

निर्णायकहरूले प्रतियोगीको समग्र प्रस्तुति, आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, स्टेज प्रस्तुति र व्यक्तिगत विशेषताका आधारमा मूल्यांकन गरेका थिए।

पाँचौं सिजनले उपाधि विजेतालाई मात्र होइन, प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीको यात्रालाई पनि महत्व दिँदै आत्मविश्वास, चरित्र, मौलिकता र उद्देश्यलाई सौन्दर्य प्रतियोगिताको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरेको थियो।

SUBSCRIBE 👉