
Mongolain Heart
तीन दशकभन्दा लामो सांगीतिक यात्रा पूरा गरेको चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्ट पहिलोपटक युरोप टुरमा निस्कने भएको छ। सन् १९९२ मा स्थापना भएको ब्यान्डले ‘मंगोलियन हार्ट युरोप मिनी टुर २०२६’ अन्तर्गत डेनमार्क, रोमानिया, पोर्चुगल र क्रोएसियामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ।
फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुन लागेको यो टुरका लागि मंगोलियन हार्टको आठ सदस्यीय टोली सेप्टेम्बर २४ मा नेपालबाट युरोप प्रस्थान गर्ने तयारीमा छ।
टोलीमा गायक राजु लामा, ब्यान्ड म्यानेजर तथा गितारिस्ट बोबी लामा, ड्रमर सन्तोष थापा मगर, बास गितारिस्ट पवन कपाली, लिड गितारिस्ट भूपेन्द्र बज्राचार्य, मादल तथा तालवादक बाबुराजा महर्जन, बाँसुरीवादक विनय महर्जन र साउन्ड इन्जिनियर निरेन्द्र रञ्जित सहभागी छन्।
टुर तालिकाअनुसार मंगोलियन हार्टले सेप्टेम्बर २६ मा डेनमार्कबाट आफ्नो युरोप यात्रा सुरु गर्नेछ। त्यसपछि अक्टोबर ३ मा रोमानिया, अक्टोबर ५ मा पोर्चुगल र अक्टोबर ११ मा क्रोएसियामा ब्यान्डको लाइभ प्रस्तुति हुनेछ।
तीन दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय मंगोलियन हार्टको यो यात्रा कन्सर्टमा मात्र सीमित रहने छैन। ब्यान्डले युरोप टुरलाई सामाजिक सेवासँग समेत जोड्दै रसुवामा बाढीबाट प्रभावित परिवारका लागि सहयोग गर्ने निर्णय गरेको छ।
गायक राजु लामाका अनुसार टुरबाट प्राप्त हुने रकमको केही हिस्सा बाढीपीडितको राहत तथा सहयोगमा प्रयोग गरिनेछ।
‘हामी संगीत लिएर युरोप जाँदैछौँ, तर हाम्रो यात्रा मनोरञ्जनमा मात्र सीमित छैन। रसुवालगायत विपद्बाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हाम्रो पनि जिम्मेवारी छ। त्यसैले यस यात्राबाट उठेको रकममध्ये केही हिस्सा उहाँहरूको सहयोगका लागि प्रयोग गर्नेछौँ,’ गायक लामाले भने।
ब्यान्ड म्यानेजर बोबी लामाले पनि युरोपमा रहेका नेपाली समुदाय तथा संगीतप्रेमीलाई कार्यक्रममा सहभागी भएर संगीतसँगै सामाजिक अभियानमा जोडिन आग्रह गरेका छन्।
‘आउनुहोस्, भेटौँ, गाऔँ, नाचौँ र मंगोलियन हार्टसँगै नेपाली संगीतको उत्सव मनाऔँ। अनि जति सकिन्छ रसुवा बाढी पीडितको दुखमा मल्हम लगाऔँ,’ उनले भने।
लामो सांगीतिक यात्रापछि पहिलो युरोप टुरमा निस्कन लागेको मंगोलियन हार्टका लागि यो भ्रमण विदेशमा रहेका नेपाली दर्शकसँग प्रत्यक्ष रूपमा जोडिने अवसरसमेत बन्नेछ। चार देशमा हुने कन्सर्टसँगै ब्यान्डले संगीत र सामाजिक सहयोगलाई एउटै यात्रामा समेटेको छ।

