१०१ विद्यार्थीका सिर्जनामाझ छानिए आईआईएफटी डिजाइन एक्स्पोका विजेता

आईआईएफटीको दुईदिने डिजाइन एक्स्पोमा क्याफे र थेसिस विधाका विजेता घोषित भएका छन्। १०१ विद्यार्थी सहभागी प्रदर्शनीको समापनमा पुरस्कार वितरणसँगै दीक्षान्त समारोह पनि आयोजना गरिएको थियो।

क्याफे र थेसिस डिजाइनमा उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै रुची बानियाँ, दिपेश माली, विवेक श्रेष्ठ र एन्जल सिंह महर्जनले आईआईएफटीको ‘स्पेस एन्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ मा विजेताको उपाधि जितेका छन्। काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा शनिबार र आइतबार आयोजित दुईदिने एक्स्पो विजेतालाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्दै सम्पन्न भएको हो।

आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले आयोजना गरेको एक्स्पोमा १०१ इन्टेरियर डिजाइन विद्यार्थी सहभागी थिए। प्रदर्शनीमा क्याफे डिजाइनतर्फ ७८ र थेसिस डिजाइनतर्फ ४२ वटा डिजाइन राखिएका थिए।

सिटी सेन्टरको भुइँतलादेखि तेस्रो तलासम्म फैलिएको प्रदर्शनीमा विद्यार्थीले अध्ययन तथा प्रशिक्षणका क्रममा तयार पारेका अवधारणा, व्यावहारिक डिजाइन र इन्टेरियरका नमुना प्रस्तुत गरेका थिए।

भोल्युम ६ र ७ का विजेता

‘स्पेस एन्ड डिजाइन एक्स्पो भोल्युम ६’ को क्याफे डिजाइनतर्फ रुची बानियाँ विजेता बनिन्। ग्रिष्मा बोगटी प्रथम रनरअप र स्मृति श्रेष्ठ दोस्रो रनरअप भए। यस विधाको मूल्यांकन रामगोपाल तन्डुकार र मुकेश महर्जनले गरेका थिए।

सोही भोल्युमको थेसिस डिजाइनतर्फ दिपेश मालीले विजेताको उपाधि जिते। समिना महर्जन प्रथम रनरअप र अनिशा खड्गी दोस्रो रनरअप घोषित भए। थेसिस डिजाइनका निर्णायक रञ्जन प्रजापति र रविन शिल्पकार थिए।

भोल्युम ७ को क्याफे डिजाइनतर्फ विवेक श्रेष्ठ विजेता बने भने समृद्धि श्रेष्ठ प्रथम रनरअप र शोभा अधिकारी दोस्रो रनरअप भए।

थेसिस डिजाइनतर्फ एन्जल सिंह महर्जनले शीर्ष स्थान हासिल गरे। यस विधामा ग्रिष्मा बोगटी प्रथम रनरअप र सुसेना लिम्बू दोस्रो रनरअप भए।

क्याफे डिजाइनको पब्लिक च्वाइस अवार्ड निकल भैला श्रेष्ठले प्राप्त गरे भने थेसिस डिजाइनको पब्लिक च्वाइस अवार्ड अनिशा थापाले जितिन्।

नगद पुरस्कारसँगै दीक्षान्त समारोह

क्याफे डिजाइनतर्फ विजेतालाई १२ हजार, प्रथम रनरअपलाई १० हजार र दोस्रो रनरअपलाई ८ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो। थेसिस डिजाइनतर्फ विजेताले १५ हजार, प्रथम रनरअपले १२ हजार र दोस्रो रनरअपले १० हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे।

कार्यक्रमका प्रमुख अतिथि माल्टाका लागि नेपाली कन्सुलर दिनेश श्रेष्ठ र आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पालगायतले विजेतालाई पुरस्कार प्रदान गरेका थिए।

श्रेष्ठले विजेतालाई बधाई दिँदै यस्ता प्रयोगात्मक तथा सिर्जनात्मक कार्यक्रमले विद्यार्थीलाई सम्बन्धित क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न सहयोग गर्ने विश्वास व्यक्त गरे।

शेर्पाले विद्यार्थीका शैक्षिक उपलब्धि सार्वजनिक गर्न र उनीहरूलाई व्यावसायिक क्षेत्रसँग जोड्न एक्स्पो आयोजना गरिएको बताए। उनका अनुसार इन्टेरियर डिजाइन, निर्माण, होटल, रेस्टुरेन्ट, क्याफे तथा रियल इस्टेटसँग सम्बन्धित व्यवसायी र पेशेवरका लागि प्रदर्शनी नयाँ प्रतिभाका काम अवलोकन गर्ने अवसर बनेको छ।

नेपालमा दक्ष फेसन तथा इन्टेरियर डिजाइनर तयार गर्ने उद्देश्यले दिइएको शिक्षाले विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा प्रवेश गर्न सहयोग गरिरहेको उनको भनाइ थियो।

समापन समारोहकै अवसरमा आईआईएफटीबाट उत्तीर्ण विद्यार्थीका लागि दीक्षान्त समारोहसमेत आयोजना गरिएको थियो।

SUBSCRIBE 👉