पत्रकारले हेरे एउटा साथी, प्रतिक्रिया मिश्रित


Aauta-Sathiग्ल्यामर नेपाल, काठमाडौं ।
सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेब्यु निर्देशनमा बनेको फिल्म ‘एउटा साथी’ आइतबार पत्रकार र फिल्मकर्मीले हेरेका छन् । राजधानीको बागबजारस्थित सिटीम्याक्सको हलमा फिल्म हेरेपछि पत्रकार र फिल्मकर्मीले मिश्रित प्रतिक्रिया दिएका छन् ।

फिल्म हेरेपछि केही पत्रकारले फिल्मको निर्देशकिय पक्ष कमजोर पाएको बताएका थिए भने केहीले फिल्ममा प्राविधिक तथा निर्देशकीय त्रुटी भए पनि समग्रमा मनोरञ्जनपूर्ण भएको बताए । निर्देशकको डेब्यु निर्देशन भए पनि केही आशलाग्दा कुरा निर्देशकमा देखिएको समेत फिल्मकर्मीले जनाए ।

फिल्मको मेकिङदेखि प्राविधिक पाटोलाई हेर्दा धेरै कुरा सुधार्नु पर्ने भए पनि कलाकारको अभिनय चाहिँ औषत रहेको उनीहरुको बुझाई थियो । उनीहरुले केही नयाँ कलाकारको अभिनय आशलाग्दो भए पनि केहीको चाहिँ निकै सुधार्नु पर्ने सुझाव थियो । केहीले चाहिँ लामो समयदेखि फिल्म पत्रकारिता गरे पनि फिल्ममा निर्देशकले आफ्नो कौशलता देखाउन नसकेको भन्दै आलोचना गरेका थिए । फिल्म हेर्न नायिका रिस्ता बस्नेत, नायक जोन तामाङ, निर्देशक सुवेदीलगायत हल पुगेका थिए ।

गत शुक्रबारबाट अल नेपाल रिलिज भएको फिल्मका निर्माता रामचन्द्र खनाल हुन् । फिल्ममा सलोन बस्नेत, अनु शाह, शिशिर भण्डारी, करिश्मा श्रेष्ठलगायतले अभिनय गरेका छन् । विगत र भविष्यलाई भन्दा पनि वर्तमानलाई सम्झेर बाँच्नुपर्छ भन्ने सन्देश बोकेको युवा पुस्ताको रोमान्टिक प्रेम कथाको फिल्ममा टंक बुढाथोकीको संगीत, रामजी लामिछाने र गम्भीर विष्टको कोरियोग्राफी, राजेन्द्र खड्गीको द्वन्द्व र सुमन तण्डुकार तथा गणेशकुमार श्रेष्ठको छायांकन छ ।

SUBSCRIBE 👉