ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म ‘हिरो’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री रेखा थापाले उक्त फिल्म खेल्दाको समयमा स्कर्ट लगाएर हिँड्दा आफुलाई समाजले हिंसाको दृष्टिकोणले हेर्ने गरेको खुलासा गरेकी छन् । रेडियो, टेलिभिजन र पत्रपत्रिकामा कार्यक्रम उत्पादन गर्ने संस्था एन्टेना फाउन्डेशन नेपालसँगको भिडियो कुराकानीमा रेखाले आफु स्कर्ट लगाएर बाटोमा हिँड्दा समाजले आफुले हेर्ने दृष्टिकोण हिंसापूर्ण रहेको तर्क गरेकी छन् ।
‘जतिबेलामा म १६, १७ वर्षकी थिएँ, भर्खरै हिरो भन्ने फिल्म खेलेको थिएँ, त्यो बेलामा म टिनेजर थिएँ, स्कर्ट लगाएर बाटोमा हिँड्दा हेरिने दृष्टिकोण थियो त्यो मलाई हिंसा लाग्थ्यो,’समाजमा बढ्दो महिला तथा पुरुष हिंसाको बिषयमा गरिएको कुराकानीमा रेखाले भनेकी छन्,‘तर त्यो कुरामा म गएर प्रतिकार गर्थे, किन हेरिस् के देखेर हेरिस् भन्थे ।’ उनले प्रतिकार क्षमता भएको महिलाले हिंसाको समस्यामा नपर्ने तर्क गरेकी छन् ।
उनले विद्यालय जीवनमो स्मरण गर्दै आफुलाई विद्यालयमा केटाले जिस्क्याउँदा ट्वाइलेटमा लगेर कुटेको पनि बताईन् । कमजोर मान्छेलाई सबैले हेप्ने भएकाले आफुले आफुलाई क्षमतावान बनाउन सबैसँग आग्रह गरेकी छन् । फिल्ममा एक्सन लेडीसँगै नारी प्रधानतालाई प्राथमिकता दिँदै आएकी रेखा स्पष्ट वक्ताको रुपमा नेपाली फिल्म क्षेत्रमा चिनिन्छिन् । उनी अभिनित फिल्म ‘तथास्तु’ आगामी पुष २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
