यस्तो लाग्दैछ, नेपाली चलचित्रका मेकरहरु अहिले धेरै नै सजग र मिहिनेती भएका छन्। चलचित्रलाई उत्कृष्ट बनाउनका लागि अब उनीहरुले संझौता गर्न छाडेका छन्। बर्षमा १० जना मात्र मेकरले यस बिषयमा ध्यान दिने हो भने, नेपाली चलचित्रको स्तर उकालो लाग्ने थियो। आजभोलि चलचित्रको मेकिङ, गीतसंगीत, कथावस्तुमा निर्माता तथा निर्देशकले पूर्ण रुपमा ध्यान दिन थालेका छन्। सायद, यसैले पनि त्यसको नजिता राम्रो देखिन थालेको छ।
नेपाली चलचित्रका गीतसंगीत अहिले उत्कृष्ट बन्न थालेका छन्। जसको प्रत्यक्ष फाइदा चलचित्रको व्यापारमा हुने देखिन्छ। माघ २९ गतेबाट अल नेपाल प्रदर्शन हुने चलचित्र ‘क्लासिक’ले गीतको अडियो र भिडियोमा कुनै संझौता नगरेको देखिन्छ। यसैले पनि सार्वजनिक भएका चलचित्रका गीतलाई दर्शकले रुचाइरहेका छन्। ताराप्रकाश लिम्बुको संगीतमा समावेश यो चलचित्रका गीतहरुको भिडियो मेकिङमा पनि निर्माणपक्षले ध्यान दिएको छ।
यसै चलचित्रमा समावेश ‘प्रकृतिका सुन्दर’ बोलको गीत युटुबबाट सार्वजनिक गरिएको छ। डाक्टर कृष्णहरी बरालको शब्द, मेलिना राइको स्वर रहेको यो गीत सुन्दा आनन्द महुशश हुन्छ। यो गीतको शब्द उत्कृष्ट छ। गायिका राइको स्वरले गीतलाई ज्यान भर्ने काम गरेको छ। गीतमा चलचित्रकी नायिका नम्रता श्रेष्ठलाई देख्न सकिन्छ। दृष्टिबिहिनको भूमिकामा देखिएकी नम्रताले गीतमा लोभलाग्दो तरिकाले लिप्सिङ गरेकी छिन्।
यसअघि सार्वजनिक भएको ‘सुनौला हरदिन’ले दर्शकको मन जितिसकेको छ। चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले मुख्य भूमिकामा छन्। दृष्टिबिहिनहरुको प्रेम तथा सांगीतिक कथामा तयार भएको यो चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन्।
सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रमा दिनेश राउतको निर्देशन छ। दिनेशले करिब ३ बर्ष लगाएर यो चलचित्रको कथा लेखेका थिए।