गायिका अन्जु पन्तको कथा व्यथा । आफ्नै गीत सुन्छिन् अनि रुन्छिन्


अन्जु पन्तलाई भेट्न परे सिधै पशुपति वृद्धाश्रम गए हुन्छ। त्यहीँ भेटिन्छिन्, जहाँ १ सय ३ वर्षसम्मका आमाहरू छन्। ती आमाहरूका लागि भिक्स र तेल लगाएर मालिस गरिदिन्छिन्। चकलेट, बिस्कुट दिन्छिन् र एकछिन भलाकुसारी गरेर हिँडछिन्।

६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ। आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन्। अरू मात्रै होइन उनी आफैं पनि आफ्नै गीत सुनेर रोएकी छन् पटकपटक। प्रायः विदेश जाँदा ट्रान्जिट पर्दा उनी आफ्नै गीत सुन्छिन् र रुन्छिन्। यात्रामा कोसेलीस्वरूप आफ्ना थुप्रै गीत मोबाइलमा राख्छिन् उनी। तिम्रो आँखामा …बोलको गीत रेकर्डिङ गर्दै गर्दा उनको आँखाबाट आँसु झरेको थियो।

अहिले सिंगल छिन् अन्जु तर, उनले आफूलाई सिंगल महसुस गरेकी छैनन्। उनी कार्यक्रमका लागि जहाँ जान्छिन्, सपरिवार पुग्छिन्। कार्यक्रम आयोजकलाई पहिल्यै भन्छिन्, ‘मलाई बोलाउने हो भने मेरो परिवारका सदस्यलाई पनि सँगै लैजानुपर्छ। चारजनाका लागि टिकट काट्न लगाउँछु।’ वैवाहिक जीवनमा सम्बन्ध विच्छेद गरेपछि उनलाई धेरै प्रस्ताव आए विवाह गर्नुपर्छ भनेर। पुनः विवाह गर्न मन छैन। एकपटक वैवाहिक जीवन भोगिसकेकी अन्जुलाई अहिले पनि लाग्छ, ‘विवाह जीवनका लागि एउटा काँडा हो। जब एउटा काँडा झिकिसकेको छ भने अर्को काँडा किन रोप्ने ?’ उल्टै प्रश्न गरिन् उनले।

जीवनमा एउटा पाठ सिकाउन सहयोग गरेकोमा मनोजराजलाई धन्यवाद पनि दिन्छिन्। मनोजले उनलाई यातना मात्रै दिएनन्। कहिलेकाहीँ माया पनि गरे। फरक यत्ति हो, माया थोरै गरे, यातना धेरै दिए। दोस्रो बिहे गरेका मनोजराजलाई अन्जुले सुझाव दिँदै भनिन्, ‘तपाईको घरमा आमा, दिदी र श्रीमती हुनुहुन्छ, उहाँहरूलाई शीतल छहारी दिनुस्।’

जति बेला उनी चर्चाको शिखरमा थिइन्। जटिल रोगले आक्रमण ग¥यो। पिनासबाट सुरु भएको उनको समस्या घाँटीमा पुग्यो। भन्छिन्, ‘मेरो आवाज सर्पको जस्तो हुन थाल्यो, शरीरको हरेक नसा दुख्थ्यो। सुताउने उठाउने काम अरूले नै गरिदिनुपथ्र्यो।’ उपचारका लागि होमियोप्याथी, एलोप्याथी, आयुर्वेद सबै उपचार गरिन्। थेरापीदेखि इन्डोस्कोपीसम्म गर्दा नभएपछि झाँक्रीको समेत शरणमा पुग्नु परेको बताउँछिन्।

अन्जुको एकपटक खुट्टा भाँचिएको थियो। उनी प्लास्टर गरेर घरमै बसेकी थिइन्। केही सञ्चारमाध्यमले समाचार लेखे, ‘अन्जुका दुई जना ब्वाइफ्रेन्ड छन्, मोजमस्तीमा रमाउँदै छिन्।’ समाचार पढेर उनी रोइन्। उनका दाजुले बहिनीको आँखामा आँसु देख्न सकेनन्। झुटो समाचार लेख्ने पत्रिकाको अफिसमा फोन गरे। फेरि अर्को समाचार आयो, ‘अन्जु पन्तका दाइले पत्रकारलाई धम्क्याए।’ ‘अन्जुलाई केटा नभई हुन्न, रक्सी नखाएसम्म अन्जु निदाउदिनन् …’ भन्ने सम्मका समाचार समेत छापिए।

जीवन एउटा अमूल्य उपहार हो भन्ने कुरा पटकपटक दोहो¥याउँछिन्। हिजो वैवाहिक जीवनमा हुँदा केही सपना पनि बुनेकी थिइन्। जब सिंगल लाइफ जिउन सुरु गरिन्। सपना बुन्ने काम थाती राखिन्। भन्छिन्, ‘मलाई रंगीन जीवनको कुनै मोह छैन।’ किनकि उनलाई जीवन एउटा लोला जस्तै लाग्छ। कहाँ कति बेला प्याट्ट फुट्ने हो कुनै ठेगान छैन। ‘किन बुन्नु सपना किन बनाउने योजना ? किन देखाउने दम्भ ?’ उनले प्रश्न गरिन्। मान्छेहरूले घमण्ड देखाएको देख्दा अचम्म लाग्छ उनलाई। ‘एक सेकेन्डपछि के हुन्छ, कसैलाई थाहा छैन तैपनि मान्छेले दम्भ देखाउन छाड्दैन,’ उनले भनिन्।

सानो छँदा अन्जु दिदीसँगै स्कुल जान्थिन्। घरबाट खाजा खान दिदीबहिनीलाई २÷२ रुपैयाँ दिने चलन थियो। उनकी दिदी २ रुपैया सकाउँथिन्। तर अन्जु हरेक दिन एक रुपैयाँ उभार्थिन्। त्यसरी जम्मा गरेको पैसा संकलन गर्थिन् र नजिकै रहेको उमेश दाइको पसलमा गएर साटेर ठूलो नोट लिन्थिन्। पचास, सय, पाँच सय हुँदै हजारको नोट बनाएर राख्थिन्। त्यसरी जम्मा गरेर राखेको पैसा कोही दुःखीलाई बाँड्थिन्। त्यो सेवाभाव अहिले पनि उनको मनमा छँदै छ। बाटोमा हिँड्दै गर्दा कोही अशक्त वा वृद्धा भेट भयो भने गाडी रोक्छिन् र एकछिन भलाकुसारी गरेर केही पैसा दिन्छिन्।

उनको सहयोगी मनबाट परिचितहरूले सल्लाह दिए, ‘यसरी एक्लै गरेर पूर्ण सहयोग हुँदैन। संस्था बनाएर अघि बढ्नुस्।’ अन्जु पन्त फाउन्डेसनको जग त्यसपछि बस्यो। संस्था स्थापना भएको धेरै भएको छैन। तराईका बाढीबाट प्रभावित इटहरीको एउटा बस्तीमा पुगेर चार सय जनालाई खाना पकाउने ग्याँस, लत्ताकपडा र खाद्यान्न वितरण ग¥यो। बल्खुको जागरण बस्तीमा आगलागी भयो। त्यहाँ रहेका साढे दुई सय बालबालिकालाई स्टेसनरी सामग्री वितरण ग¥यो। बालबालिका र चेलीबेटी बेचबिखनविरुद्ध फाउन्डेसनले काम गर्ने योजना बनाएकी छिन्। त्यसो त एचआईभी पीडित डोटीका २१ बालबालिकाका लागि उनको संस्थाले ६ महिनाका लागि छात्रवृत्ति प्रदान गरिसकेको छ।

अन्जु पन्त एकल साँझबाट उनले रुपैयाँ पनि पारिश्रमिक लिइनन्। प्राविधिकहरूलाई दिएर उभ्रेको रकम फाउन्डेसनमै जम्मा गरिन्। भन्छिन्, ‘अरूलाई सहयोग गर्न पाउँदा मनै आनन्दित भएर आउँछ।’ केही दिनअघि देहत्याग गरेका रेडियो प्रस्तोता वासुदेव मुनाललाई १० हजार आर्थिक सहयोग गरेकी अन्जुले साढे दुई लाख रोयल्टी बुझेको बेला गीतकार संघ र रोएल्टी समाजलाई २५/२५ हजार दिएकी थिइन्।

कुनै रेकर्डिङ छैन। स्टेज कार्यक्रम पनि छैन, अन्जु पन्त नेपालमै छिन् तापनि फोन सम्पर्क भएन भने उनलाई खोज्नसिधै पशुपति वृद्धाश्रम गए हुन्छ। त्यहीँ भेटिन्छिन्, जहाँ १ सय ३ वर्षसम्मका आमाहरू छन्। ती आमाहरूका लागि भिक्स र तेल लगाएर मालिस गरिदिन्छिन्। चकलेट, बिस्कुट दिन्छिन् र एकछिन भलाकुसारी गरेर हिँडछिन्।

– ध्रुव लम्साल / राजधानी दैनिक

SUBSCRIBE 👉