दक्षिण अफ्रिकी सुन्दरी ‘डेमी ली’लाई ‘मिस युनिभर्स’को ताज


विश्वका विभिन्न मुलुकका ९२ जना सुन्दरीहरुको सहभागितामा भव्य रुपमा सम्पन्न भएको ६६ औं संस्करणको ब्रम्हाण्ड सुन्दरी प्रतियोगिता अर्थात् मिस युनिभर्स २०१७ को विजेताको ताज पहिरिन सफल भएकी छिन् – दक्षिण अफ्रिकी सुन्दरी डेमी ली नेल पिटर्स। २२ वर्षिया डेमी ली मिस युनिभर्स उपाधिमा सफलता प्राप्त गर्ने दोस्रो दक्षिण अफ्रिकी सुन्दरी हुन्। यसअघि सन् १९७८ मार्गरेट गार्डनरले यो उपाधि जितेकी थिइन्।

अमेरिकाको नेभाडा राज्यको लास भेगासमा अवस्थित प्लानेट हलिउडको द एक्सिस् थिएटरमा संचालन भएको मिस युनिभर्सको ग्राण्ड फिनालेमा कोलम्बियाकी लाउरा गोन्जालेस फस्ट रनर अप तथा जमैकाकी डेभिना बेनेट सेकेन्ड रनर अप स्थान ओगट्न सफल भए। टप फाइभ भित्र उल्लेखीत विजेता र उपविजेताहरु बाहेक थाइल्याण्डकी मारिया पुनलर्टरप र भेनेजुएलाकी केसी सायागो पर्न सफल भएका थिए ।

मिस युनिभर्स प्रतियोगितामा यसै वर्ष नेपाली सुन्दरीको पनि सहभागिता रह्यो। मिस नेपाल अर्थ २०१२को विजेता रहिसकेकी र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता र उपलब्धीमा सबैभन्दा अनुभवी देखिएकी २४ वर्षिया नगमा श्रेष्ठ मिस युनिभर्स २०१७ मा नेपालको तर्फबाट सहभागि थिइन्। मिस युनिभर्स प्रतियोगितामा नगमाको उपस्थित प्रभावकारी र लोभलाग्दो रहेता पनि महत्वपूर्ण उपलब्धीको सवालमा भने उल्लेख्य रहेन।

SUBSCRIBE 👉