मुम्बईका छत्रपति शर्माको प्रिती शर्मासँग २३ नोभेम्बरको रात सिंगरोलीमा बिहे भयो। बिहे सकेपछि छत्रपति बेहुली र जन्ती लिएर २४ नोभेम्बरको राति जबलपुर रेलवे स्टेसनबाट मुम्बई फर्किरहेका थिए। तर, २५ नोभेम्बरको बिहान बबुरहानपुर, इटारसी–भुसावल रेलमार्गको पाटलीपुत्र सुपरफास्ट ट्रेनको एसी कोचबाट दुलही प्रिती लापत्ता भइन्। रातभरिको यात्राले गर्दा भुसुक्कै निदाएका जन्ती तथा बेहुलाका आँखा बिहान सात बजेतिर मात्रै खुल्यो। सँगै बसेकी दुलहीलाई नदेखेपछि छत्रपतिले खोजी सुरु गरे। जन्ती र बेहुला मिलेर ट्रेनभरि बेहुलीलाई खोजे।
तर, कतै फेला परिनन्। सोही रेलमा यात्रा गरिरहेका एकजना यात्रुले बिहान इटारसी स्टेसनमा दुलही उत्रिएको देखेका रहेछन्। उनले दिएको सूचनाका आधारमा दुलाहाले दुलही हराएको रिपोर्ट पुलिसकोमा लेखाएका छन्। पुलिसले रेल स्टेसनको सिसिटिभी फुटेज चेक गर्दा पनि दुलहीको सुइँको नपाएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
दुलाहाका भाइले बताएअनुसार बिहेको वेला दुलही प्रितीको मुहारमा कत्ति पनि तनाव देखिएको थिएन। त्यसकारण आफूहरू बिहेको समयमै चकित परेको उनको भनाइ छ। दुलहीका बाबु जयराम शर्माका अनुसार प्रिती र छत्रपतिको जुलाई १ मा सघाइ भएको थियो। उनीहरू एकले अर्कालाई मन पराएरै बिहेका लागि राजी भएका थिए।
छोरी लापत्ता भएकोमा बाबु जयराम निकै तनावग्रस्त छन्। त्यो बिहेमा आठ लाख खर्च भएको थियो। प्रितीको गाउँका केही मान्छेले उनको अरूसँगै चक्कर रहेकाले ‘सेटिङ’ मिलाएर बीच बाटोमै भाग्न सफल भएकोसमेत जिकिर गर्ने गरेका छन्। तर, बाबु जयराम भने आफ्नी छोरीले त्यस्तो गर्नै नसक्ने दाबी गर्छन्। पुलिसले खोजी जारी राखेको छ।