‘फेशन सो’मा एसिड आक्रमण पिडितहरु


भारतमा विभिन्न घरेलु हिंसाका कारणले वार्षिक १ हजारको हाराहारीमा महिलाहरू एसिड आक्रमणको सिकार हुने गरेका छन्। यस्तो आक्रमण दाइजो, प्रेममा धोका, एकतर्फी प्रेम, बहुविवाहजस्ता कारणले हुने गरेको छ। एसिड आक्रमणमा परेर अनुहार कुरूप भएका कारण बाटोमा हिँड्डुल गर्न पनि अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्ने पीडित महिलाहरूलाई सामाजिक प्रतिष्ठा दिलाउन र उनीहरू पनि सुन्दरी देखिन्छन् भन्ने कुरा प्रमाणित गर्न हालै नयाँ दिल्लीमा भव्य फेसन शोको आयोजना गरियो। उक्त फेसन शोमा भारतका चर्चित फेसन डिजाइनर रोहित वल, रन्ना गिल, अर्चना कोचरले डिजाइन गरेको ड्रेस लगाएर नौ जना एसिड आक्रमण पीडित मोडलहरू र्‍याम्पमा हिँडेका थिए। यो कार्यक्रममा गत वर्ष न्युयोर्क फेसन शोमा मोडलिङ गरिसकेकी २० वर्षीया रेश्मा कुरेशीले पनि भाग लिएकी थिइन्।