टिन एसिया प्यासिफिकमा जाँदै सोनिना


miss-teen-nepal
ग्ल्यामर नेपाल, काठमाडौं । सिंगापुरमा हुने ‘टिन एसिया प्यासिफिक’मा नेपालका तर्फबाट सोनिना गुरुङले सहभागिता जनाउने भएकी छन्। इप्लानेट नामक संस्थाले गत फागुन ३ गते राजधानीमा आयोजना गरेको ‘मिस टिन नेपाल’ प्रतियोगिताको उपविजेता १७ वर्षीया गुरुङले आगामी जुन ७ तारिखमा सिंगापुरको होटल अर्किड क्लवमा हुने ‘टिन एसिया प्यासिफिक’को फाइनल प्रतिष्पर्धामा सहभागिता जनाउन लागेकी हुन्।

संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार सिंगापुरको कार्यक्रममा सहभागिता जनाउनुअघि सोनिनालाई सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य, डाली खनाल, सुरेश के.सी तथा सौन्दर्यविद् ओकाशा मुल्मीलगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए। सोनिनाले प्रतियोगितामा नेपालको संस्कृति झल्कने सांस्कृतिक नृत्य प्रस्तुत गर्ने सन्तोषले जानकारी दिए। राजधानीको कलंकी निवासी सोनिना विहिवार फेसन डिजाइनर दिदी बिञ्जना गुरुङका साथ सिंगापुर जाँदैछिन्। सोनिनाका लागि दिदीले नै पहिरन डिजाइन गरेकी छन्।

सिंगापुरमा हरेक वर्ष आयोजना हुंदै आएको बालबालिकाको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा एसियाली राष्ट्रका ३४ बालबालिका तथा किशोरीले प्रतिष्पर्धा गर्नेछन्। यो प्रतियोगितामा नेपालको पहिलो सहभागिता हो। इप्लानेटले ‘गौतम बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदाको सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल’ आयोजनाको तयारी गरिरहेको छ। केही समय अघि टर्कीमा आयोजित ‘लिटिल मिस वल्र्ड युनिभर्स’मा सहभागिता जनाएकी दृष्टि दाहालले शीर्ष उपाधि चुमेकी थिईन्।

SUBSCRIBE 👉