सर्वनाममा गुञ्जियो झ्याउरे – रोधी भाका


nabin-gurung-photographer-performing-live-concert
ग्ल्यामर नेपाल, काठमाडौं । प्रायः नाटक र महिनाको एक पटक कविताको प्रस्तुति हुने राजधानीको डिल्लीबजारस्थित सर्वनाम थिएटर बिहिबार साँझ भने संगीतमय बन्यो। उक्त संगीत पनि आधुनिक र पाश्चात्य शैलीको पप फ्युजनको थिएन, थियो त केबल विशुद्ध नेपालीपन झल्काउने झ्याउरे भाका, रोधी भाकालगायतका लोकभाकाको। सर्वनाम थियटरले गर्दै आएको सांगीतिक कार्यक्रम ‘फ्युजन वेब’को तेस्रो संस्करणमा फोटोपत्रकार नविन गुरुङ यिनै लोकभाकामाझ झुल्किए।

कार्यक्रममा गुरुङले स्वर्गीय प्रविण गुरुङको गीतसँगै आफ्ना कौडा, चुड्का तथा पश्चिमेली झ्याउरे गीत सुनाए। उनले आफ्नै शब्द र संगीतको गीत ‘कौडा चुड्का’ र ‘सलल पानी गंगाको तिरै’मा गाउँदा सर्वनामको प्रेक्षालयमा उपस्थित दर्शकहरुले तालीले साथ दिएका थिए। अर्का गायक शिव अधिकारीले पुर्वेली झ्याउरे ‘तिरिमिरी लाकुरे छायाँ’, असारे भाका तथा धिमाल गीत सुनाए। उनका गीतमा पनि दर्शकको रुचाई उस्तै थियो।

श्रीतारा ब्याण्डले विभिन्न लोक फ्युजनका संगीतले कार्यक्रमको माहौललाई झन गरम बनाइदिएको थियो। हरेक अंग्रेजी महिनाको पहिलो दिन हुने कार्यक्रम यसपटक विशेष कारणले बिहिबार ५ तारिखका दिन गरिएको आयोजकले जनाए।

SUBSCRIBE 👉