सोनिनालाई गुडवील एसिया प्यासिफिक अवार्ड


sonina-gurung
ग्ल्यामर नेपाल, काठमाडौं। सिंगापुरमा भएको ‘टिन एसिया प्यासिफिक’मा नेपालका तर्फ बाट सहभागिता जनाएकी सोनिना गुरुङले विधागत अवार्ड ‘मिस टिन गुडवील एसिया प्यासिफिक अवार्ड’ जितेकी छन्। राजधानीमा रहेको इप्लानेट नामक संस्थाले गत फागुन ३ गते राजधानीमा आयोजना गरेको ‘मिस टिन नेपाल’ प्रतियोगितामा उपविजेता बनेकी १७ वर्षीया गुरुङले सिंगापुरको होटल अर्किड क्लबमा भएको फाइनल प्रतियोगितामा उक्त अवार्ड जितेकी हुन्। राजधानीको कलंकी निवासी सोनिना फेसन डिजाइनर दिदी बिञ्जना गुरुङका साथ सिंगापुर गएकी थिईन्। सोनिनाका लागि दिदीले नै पहिरन डिजाइन गरेकी हुन्।

सिंगापुरमा हरेक वर्ष आयोजना हुँदै आएको बालबालिकाको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा एसियाली राष्ट्रका ३४ बालबालिका तथा किशोरीले प्रतिष्पर्धा गरेका थिए। प्रतियोगितामा नेपालको पहिलो सहभागिता हो। संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार सोनिनाले प्रतियोगितामा नेपालको संस्कृति झल्काउने सांस्कृतिक नृत्य प्रस्तुत गरेकी थिईन् । नेपालमा रहँदा सोनिनालाई सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य, डाली खनाल, सुरेश के.सी तथा सौन्दर्यविद् ओकाशा मुल्मीलगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए।

इप्लानेटले ‘गौतम बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदाको सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल’ आयोजनाको तयारी गरिरहेको छ। केही समय अघि टर्कीमा आयोजित ‘लिटिल मिस वल्र्ड युनिभर्स’मा सहभागिता जनाएकी दृष्टि दाहालले शीर्ष उपाधि चुमेकी थिईन्।

SUBSCRIBE 👉