‘बेटी पढाऊ, बेटी बचाऊ’ महाअभियानमा रेखा थापा

प्रदेश २ को सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको अभियन्ताका रूपमा रेखा थापा अनुबन्धित। अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सी जस्ता हिंसात्मक घटनालाई न्यूनीकरण गर्ने नै अभियानको मुख्य लक्ष्य।


अभिनेत्री रेखा थापा प्रदेश २ का लागि ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको अभियन्ताका रूपमा अनुबन्धित भएकी छन्। प्रदेश २ को सरकारले उनलाई यो अभियानको अभियन्ताका रूपमा अनुबन्धित गरेको हो। यसरी अभिनेत्री थापालाई चयन गरेपछि उनले यो अभियान रौतहटबाट सुरु गरेकी छन्।

छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियानअन्तर्गत बुधबार रौतहटको परोहा नगरपालिकामा रौतहट संकल्प सम्मेलन गरिएको छ। कार्यक्रममा अभिनेत्री रेखा थापाले आफूले यो ठूलो जिम्मेवारी पाएकोमा हर्षित भएको बताइन्। छोरीले अन्याय पाइरहेको अवस्थामा प्रदेश सरकारले दिएको जिम्मेवारीलाई अझ गहनताका साथ सफल गराएर छाड्ने कलाकार थापाले प्रतिबद्धता गरिन्।

प्रदेश २ मा अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसात्मक घटना व्याप्त रहेको अवस्थामा यस्ता घटनालाई न्यूनीकरण गर्ने नै मुख्य लक्ष्य हुने थापाले बताइन्। सम्मेलनमा बोल्दै पूर्वमन्त्री तथा संसद् अफताब आलमले छोरीलाई शिक्षा अनिवार्य भएको बताएका छन्। अभिनेत्री रेखा थापाको साथ र सहयोगले यो अभियानमा ठूलो सहयोग पुग्ने विश्वास उनले कार्यक्रममा व्यक्त गरे।

सो संकल्प सम्मेलनमा रौतहट क्षेत्र नं. ४ का सांसद देवप्रसाद तिमलसिना, परोहा नगरपालिकाका नगरप्रमुख शेख वकिलले अभिनेत्री थापासँगै यो अभियान सार्थक तुल्याउन आफूहरूको पनि साथ रहेको प्रतिबद्धता जनाए।

प्रदेश २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यही १५ मंसिरदेखि १५ पुससम्म अभियान सञ्चालन हुनेछ। प्रदेशका सबै जिल्लामा छोरीलाई पढाउन र दाइजो प्रथा हटाउन जनचेतनामूलक ‘सडक नाटक’ प्रदर्शन गर्ने र अन्तक्र्रिया कार्यक्रम गरिनेछ। विभिन्न स्थानमा पुगेर कार्यक्रममा सहभागी हुँदै अभिनेत्री थापाले छोरीलाई स्कुल पठाउन र पढाउनका लागि सबैलाई पहल गर्नेछिन्।

SUBSCRIBE 👉