वर्ल्ड कप फाइनलसँगै चर्चित फूटबल खेलाडी र मोडलहरुको क्याट वाल्क


Glam-Sports-2014 (37)

ग्ल्यामर नेपाल, काठमाडौं । विश्वकप फाइनलको दिन आइतबार राजधानीको होटल अन्नपूर्ण खेलकुद र फेसनमय बन्यो। जर्मनी र अर्जेन्टिनाबीचको फाइनल खेल हेर्न आएका दर्शकहरु करिब दुई घण्टासम्म फेसनको माहौलमा रमाए। बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट प्रा.लिले आयोजना गरेको ‘ग्ल्याम स्पोर्टस’ कार्यक्रममा नेपालका चर्चित फूटबल खेलाडी र मोडलहरुको विशेष फेशन शो गरिएको थियो।

विभिन्न ६ वटा सिक्वेन्समा भएको फेसन शोमा हरि खड्का, विराज महर्जन, किरण चेम्जोङ, विशाल श्रेष्ठ, नविन न्यौपाने, लक्ष्मण रुसाल, दीपक भुषाल जस्ता फूटबलका युवा खेलाडीले १६ जना मोडलसँग र्याम्प हिँडेका थिए। स्पोटर्सवेयर, साडी, लेंगा, वानपिसलगायतको सिक्वेन्समा खेलाडी तथा मोडलहरु र्याम्प उपस्थित भएका थिए। काइरा बुटिक, लण्डन फेसन हाउस, रिबोक र नेपाल फेसन हाउसको डिजाइनमा तयार पारिएका पहिरन मोडल तथा खेलाडीले पहिरिएर र्याम्पमा प्रदर्शन गरेका थिए।

कार्यक्रम को फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

कार्यक्रमको आकर्षणका रुपमा स–साना बालबालिकाहरुले विश्वकपमा सहभागी विभिन्न चर्चित राष्ट्रका जर्सी लगाएर र्याम्पमा देखिए। फूटबल खेलाडी हरि खड्काका छोरा, आयोजक धिरज तण्डुकारको छोरी रिब्या तण्डुकारलगायतले मोडल तथा खेलाडीसँग क्याटवक गरेका थिए। कार्यक्रमलाई थप रोचक बनाउन हाँस्य कलाकार महादेव त्रिपाठीले प्रहसन गरेका थिए भने विभिन्न कलाकारले नृत्यसमेत प्रस्तुत गरे। दर्शकको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा फेशन शो सकिएपछि डिजे शिशिरले एक घण्टासम्म दर्शकलाई नचाए।

‘कार्यक्रम सोचे भन्दा राम्रो भयो, हामी खुशी छौं,’आयोजक संस्थाका प्रमुख धिरज तण्डुकारले भने,‘खेलकुद र मनोरञ्जनमा रमाउन चाहने आम युवापुस्तालाई ध्यान दिँदै हामीले कार्यक्रम गरेका हौं।’ खेलाडी तथा मोडललाई सञ्जित श्रेष्ठले कोरियोग्राफी गरेका थिए। कार्यक्रमका संयोजक प्रमोद श्रेष्ठ हुन्।

संस्थाले यसअघि ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’, ‘मन्सुन फेसन परेड’, ‘मिस चितवन’, ‘फेसन यात्रा’, ‘मिस टिन ग्रिन नेपाल’ जस्ता कार्यक्रम आयोजना गरिसकेको छ।

SUBSCRIBE 👉