कम्बोडियामा संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालका तर्फबाट सलिना नेपालले सहभागिता जनाउने भएकी छिन्। ढोलाहिटी, ललितपुर निवासी २३ वर्षिया सलिनाले यस अघि आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको मिस ग्राण्ड नेपाल २०२३ को शीर्ष उपाधि जित्न सफल भएकी थिइन्। प्रतियोगिताको ग्राण्ड विजेता बनेसंगै सलिनाले मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन्। पाँच फिट चार इन्ट उँचाईंकी सलिना आफूलाई आत्मविश्वास, मित्रवत् र इमान्दार भएकी बताउँछिन् । पब्लिक एडमिनिस्ट्रेसनमा स्नातक गर्दै गरेकी सलिना फुर्सदको समयमा पौडी, नृत्य र स्केचिङमा व्यतित गर्न रुचाउँछिन्।
मिस प्लानेट इन्टरनेसनलमा सहभागि हुन सलिना यही कार्तिक ९ गते कम्बोडिया प्रस्थान गर्दैछिन्। प्रतियोगितामा सहभागि हुनु पूर्व सलिनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबारे अभिमूखिकीरण र प्रशिक्षण संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेकी छिन्। मिस प्लानेट इन्टरनेसनल २०२४ को अन्तिम प्रतिस्पर्धा १९ नोभेम्बर अर्थात् आउँदो मंसीर ३ गते कम्बोडियाको नोम पेन स्थित को पिक थिएटरमा सम्पन्न हुनेछ। प्रतियोगितामा नेपाल लगायत विश्वका ४० बढी मुलुकका सुन्दरीहरुको सहभागिता रहेको छ।