‘पुजार सार्की’को गीत ‘जाऊँ माया’: मन छुने शब्दमा यथार्थवादी दृश्यहरू


फिल्म ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक भएको छ। यो गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात नौ डाँडा काटेर जान प्रेमीकालाई आग्रह गरेको कुरा जनाउँछन्। गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ।

त्यस्तै मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ। गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ। गीतमा बि पाण्डेको शब्द, सुवास भुषालको संगीत र केतन क्षेत्रीको स्वर छ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ। यो फिल्म यही जेठ १० गते रिलिज हुदैछ।

दिनेश राउतको निर्देशन रहेको फिल्ममा सुवास भुसालको निर्माण छ। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ।

राजेश श्रेष्ठको डिओपी रहेको फिल्ममा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीको द्वन्द्व छ। फिल्मको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।

SUBSCRIBE 👉