‘छोरी’मार्फत निर्देशनमा फर्कदै अशोक


Ashok-Sharmaग्ल्यामर नेपाल, काठमाडौं । फिल्म ‘यो मायाको सागर’ निर्देशन गरेर निर्देशनमा गुमनाम भएका निर्माता, निर्देशक तथा कलाकार अशोक शर्मा झण्डै १३ वर्ष पछि पुनः फिल्म निर्देशनमा फर्कने भएका छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘छोरी’ रहेको छ ।
बीचको समयमा फिल्म निर्देशन नगरे पनि उनले ‘मितिनी’ र ‘अन्दाज’ फिल्मको निर्माण गरेका थिए भने ‘अपराध’ नामक टेलिसिरियलको निर्देशन गरेका थिए । यो समयमा उनले फिल्म वितरण कम्पनी डिसिएन स्थापना गरेर आफुलाई वितरकको रुपमा पनि स्थापित गराए ।

‘अहिले स्क्रिप्टको पहिलो ड्राफ्ट तयार भइरहेकोले अबको करिब ६ महिना पछि हामी फ्लोरमा जादैछौ,’अशोकले फिल्मका बारे भने,‘फिल्म सत्य घटनाको कथालाई प्रस्तुत गर्नेछ ।’ शर्माको करिअर शुरुवातदेखि नै स्क्रिप्ट लेखनमा सघाउँदै आएका राजकुमार श्रेष्ठले ‘छोरी’ स्क्रिप्टको काम गरिरहेका छन् । शर्माको होम प्रोडक्सन फिल्म वल्र्ड प्रालिको ब्यानरमा बन्ने फिल्ममा चल्तीका कलाकारको अभिनय रहनेछ ।

शर्माका अनुसार अमेरिकामा निर्देशन पढिरहेकी छोरी र मलेसियामा निर्देशन नै पढिरहेका छोराले पनि मुख्य सहायक निर्देशकका रुपमा सघाउनेछन् । सुपरडुपर हिट फिल्म ‘अल्लारे’का निर्मातासमेत रहेका अशोकले यसै फिल्मको सिक्वेल बनाउने चर्चा चलिरहँदा उनले ‘छोरी’को तयारी गरेका हुन् । ‘पहिला ‘छोरी’ अनि मात्र ‘अल्लारे २’ हुनेछ ।’ उनले भने ।

SUBSCRIBE 👉