
काठमाडौंमा सम्पन्न नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज : पूजा सर’ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र घोषित भएको छ। उक्त फिल्मले ट्रफीसहित पन्ध्र सय अमेरिकी डलर पुरस्कार जितेको छ।
सुन्धारास्थित सिभिल मलमा आयोजित समापन समारोह नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
राष्ट्रियतर्फ समुन्द्र भट्ट निर्देशित फिल्म ‘गुन्यू चोलो : द ड्रेस’ ले सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड जित्यो। फिल्मले ट्रफीसहित एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो। यसै फिल्मबाट समुन्द्र भट्ट उत्कृष्ट निर्देशक पनि घोषित भइन् भने नाजिर हुसेनले उत्कृष्ट नायकको अवार्ड हात पारे।
उता, फिल्म ‘कोशेढुङ्गा’ बाट सुरक्षा पन्त उत्कृष्ट नायिका घोषित भइन्। यही फिल्मबाट बाबु श्रेष्ठले उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड जिते।
यो पनि पढ्नुहोस:
गाउँ गाउँमा सिनेमा: सर्लाहीमा हुँदै ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण
सर्वोत्कृष्ट पटकथाकारको अवार्ड भने फिल्म ‘केटी हराएको सूचना’ बाट दीपेन्द्र गौचनले पाए।
दक्षिण एसियाली प्रतिस्पर्धातर्फ फुर्वा क्षिरिङ लामा निर्देशित नेपाली भाषाको भारतीय फिल्म ‘जार’ सर्वोत्कृष्ट घोषित भयो।
अन्तर्राष्ट्रिय विधातर्फ आइसल्यान्डको डकुमेन्ट्री ‘ग्राउन्ड बिनिथ आवर फिट’ ले उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्दा इरानको सर्ट फिल्म ‘सिप’ उत्कृष्ट सर्ट फिल्म घोषित भयो।

एआई थिममा बनेको चिनियाँ सर्ट फिल्म ‘स्पिरिट अफ द माउन्टेन’ पनि पुरस्कृत भयो। विद्यार्थी चलचित्रतर्फ मेक्सिकोको ‘पासारिन्हो’ उत्कृष्ट घोषित भयो।
राष्ट्रिय डकुमेन्ट्रीतर्फ दीपक छोदेन लामाको ‘होम इज नट अ प्लेस’ र राष्ट्रिय सर्ट फिल्मतर्फ सुरज पौडेलको ‘रिहाना’ ले अवार्ड जिते।
यसैगरी, डन किहोते अवार्ड इरानी फिल्म ‘माई डटर्ज हेयर’ ले जित्दा स्पेशल मेन्सन अन्तर्राष्ट्रिय सर्ट फिल्म भारतको ‘हाउसकिप्पर’ र अन्तर्राष्ट्रिय फिल्मतर्फ चिनियाँ ‘द शोर अफ लाइफ’ घोषित भए।
समारोहमा बोल्दै प्रमुख अतिथि हार्तम्छालीले निफले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताए। निफका अध्यक्ष केपी पाठकले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
चैत १९ गतेदेखि सुरु भएको निफको यो संस्करण विभिन्न देशका फिल्म, अन्तरक्रिया र कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको हो।
यो पनि पढ्नुहोस:
‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ रिलिज, आमा–छोरीको भावुक कथा
