टिकटकर आयुष सिंह ठकुरीको फिल्म इन्ट्री, ‘राम नाम सत्य’मा सस्पेन्स भूमिका

टिकटकमा लोकप्रिय आयुष सिंह ठकुरी अब फिल्म ‘राम नाम सत्य’बाट ठूलो पर्दामा देखिँदैछन्। सस्पेन्स भूमिकामा देखिने आयुषले फिल्मका लागि आफूले निकै मिहिनेत गरेको बताएका छन्।


टिकटकमा लोकप्रियता कमाउँदै आएका आयुष सिंह ठकुरी अब नेपाली फिल्मको पर्दामा देखिन लागेका छन्। निर्देशक माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’ बाट उनले अभिनय यात्रा सुरु गर्दैछन्। फिल्म यही चैत्र २७ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

फिल्म रिलिज नजिकिँदै गर्दा आयुष मिडियासँगको अन्तरक्रियामा खुलेर प्रस्तुत भए। उनी फिल्मलाई लिएर निकै उत्साहित देखिए। उनले भने, “धेरै फिल्मको अफर आएको थियो, तर ‘राम नाम सत्य’को कथा मन परेपछि मात्र काम गर्ने निर्णय लिएँ।”

फिल्मभित्र आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने उनको दाबी छ। ट्रेलरमा समावेश एक संवादबारे उनले रोचक अनुभव सुनाउँदै भने, “ट्रेलर हेरेपछि मेरो आफ्नै परिवारले पनि मेरो आवाज चिन्न सकेन। पछि मैले नै बताउँदा सबै छक्क परे। मैले यसका लागि धेरै मेहनत गरेको छु।”


‘राम नाम सत्य’ को ट्रेलर हेर्नुहोस्:
सुशील र दिव्याको प्रेमदेखि विराजको एक्सनसम्म, ‘राम नाम सत्य’ ट्रेलर


आयुषले अहिले फिल्मको व्यापारभन्दा पनि दर्शकको प्रतिक्रिया महत्त्वपूर्ण रहेको बताए। टिकटकमा लाखौँ फलोअर्स भएका उनलाई ती दर्शक हलसम्म ल्याउने चुनौती भने छ। यसबारे उनी भन्छन्, “विदेशमा रहेका धेरै नेपालीहरूले आफ्ना आफन्तका लागि टिकट किन्ने र हल बुक गर्ने कुरा गर्नुभएको छ। फिल्मप्रति दर्शकको उत्साह देख्दा खुसी लागेको छ।”

उनले ‘राम नाम सत्य’को सिक्वेल पनि बन्ने खुलासा गरे। “सिक्वेलमा मेरो भूमिका कस्तो हुन्छ भन्ने बुझ्नका लागि पनि पहिलो भाग छुटाउन हुँदैन,” उनले भने।

आयुषका अनुसार फिल्मको कथा बलियो छ र सस्पेन्स–थ्रिलर शैलीले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्नेछ। उनले फिल्मले हरेक कोणबाट मनोरञ्जन दिने विश्वास व्यक्त गरे।

अब भने आयुष फिल्म क्षेत्रमा निरन्तर अघि बढ्ने तयारीमा छन्। “अझै धेरै सिक्नुछ, आफूलाई तयार बनाउनुछ। हतारमा काम गर्ने छैन, तर अब यही क्षेत्रमा अघि बढ्छु,” उनले भने।

उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार भएको फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ। नयाँ वर्षको छेकोमा सोलो रिलिज हुन लागेको फिल्मले राम्रो ओपनिङ गर्ने अपेक्षा गरिएको छ।


यो पनि पढ्नुहोस्: ‘राम नाम सत्य’को दमदार ट्रेलर: एक्सन, प्रेम र सस्पेन्सले भरियो चर्चा


SUBSCRIBE 👉