ताङतिङमा अन्तिम दृश्य खिच्दै गुरुङ संस्कृतिको कथा ‘बुकी फूल’को छायांकन सकियो

सिक्लेसबाट सुरु भएको ‘बुकी फूल’को छायांकन ताङतिङमा टुंगिएको छ। ओमप्रकाश गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राईसँग संस्कृति गुरुङले डेब्यु गर्दैछिन्।

Dayahang Rai with debut actress Sanskriti Gurung in Nepali Movie ‘Buki Phool’

दयाहाङ राई र संस्कृति गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सकिएको छ। कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा मंगलबार अन्तिम दृश्य खिच्दै टोलीले छायांकन टुंग्याएको हो।

गुरुङ सभ्यता, संस्कृति र संस्कारसँग जोडिएको ऐतिहासिक कथामा आधारित चलचित्रलाई ओमप्रकाश गुरुङले निर्देशन गरेका छन्। ‘बुकी फूल’बाट संस्कृति गुरुङले चलचित्रमा डेब्यु गर्दैछिन्।

गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ (श्याम) को परिकल्पनामा बनेको चलचित्र अभियान फिल्म्स प्रोडक्सन प्रा.लि., पोखराको ब्यानरमा निर्माण भइरहेको छ। चलचित्रले गुरुङ समुदायको मौलिक कथा, तत्कालीन जीवनशैली र सांस्कृतिक परिवेशलाई पर्दामा समेट्ने लक्ष्य राखेको छ।

Maya Gurung and Dayahang Rai in Nepali Movie ‘Buki Phool’

असोज १ गते कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा शुभमुहूर्त गरिएको चलचित्रको छायांकन सिक्लेस र आसपासका क्षेत्रमा भएको थियो। प्रोडक्सन म्यानेजर डीबी गुरुङका अनुसार ताङतिङमा अन्तिम दृश्य खिचेसँगै छायांकनको सम्पूर्ण काम पूरा भएको हो। निर्माण पक्षले अब छिट्टै सम्पादन सुरु गर्ने जनाएको छ।

चलचित्रमा दयाहाङ र संस्कृतिसँगै पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, डीबी गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ र प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।

सुसान प्रजापतिले खिचेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। विशाल राई र सुरेन्द्र सिंहले सहायक निर्देशकका रूपमा काम गरेका छन्।

End Clap of Nepali Movie ‘Buki Phool’

कला निर्देशन कमलबहादुर गुरुङ, याङसाङ राई र रोशन मुर्मुले गरेका छन् भने नृत्य निर्देशन पनि कमलबहादुरकै छ। पोसाक व्यवस्थापन कमला छ्यान्त्याल, लाइभ साउन्ड नवीन श्रेष्ठ, मेकअप विक्रम थापा र बीटीएस छायांकन समीर गुरुङले सम्हालेका छन्। टेक गुरुङले सहनिर्माण नियन्त्रकको जिम्मेवारी निर्वाह गरेका छन्।

छायांकन सम्पन्न भएपछि निर्माण पक्षले कलाकार, प्राविधिक, स्थानीयवासी र सहयोगीप्रति आभार व्यक्त गरेको छ। गुरुङ समुदायको ऐतिहासिक तथा सांस्कृतिक परिवेशमा केन्द्रित ‘बुकी फूल’ अब सम्पादनको तयारीमा छ।

SUBSCRIBE 👉