भारतपछि काठमाडौंमा माइकल स्टेप


IMG_0097
ग्ल्यामर नेपाल, काठमाडौं । भारतको मुम्बई र पुनामा रहेर नृत्यका विविध विषयमा प्रशिक्षण दिँदै आएको माइकल स्टेप अप आर्टस एकेडेमीले काठमाडौंको डिल्लीबजारस्थित कालिकास्थानमा आफ्नो शाखा विस्तार गरेको छ । एकेडेमीको शनिवार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार तथा नृत्यांगना मिथिला शर्मा र उनका पति पूर्व आइजीपी मोतिलाल बोहोराले संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

शुभारम्भ पश्चात कलाकार शर्माले मुम्बईबाट नृत्य सिकेर नेपाल आई एकेडेमी खोलेकोमा संस्थाका निर्देशक माइकल चन्दको तारिफ गर्दै स्वदेशका संस्कृतिलाई विदेशमा परिचित गराउन सुझाव दिईन् । ‘यहाँ विभिन्न परम्परागत राम्रा नृत्य छन्, त्यसलाई विदेशमा पनि प्रचार गर्दा नेपाली संस्कृतिको प्रवद्र्धन हुन्छ, त्यसमा युवाको भूमिका महत्वपूर्ण छ,’ उनले भनिन्,‘शारीरिक, मानसिक, बौद्धिक विकासका लागि पनि नृत्य अत्यावश्यक छ ।’ पूर्व आइजिपी बोहोराले आफु नृत्य विधा भन्दा बाहिरको मानिस भए पनि नृत्य मनपराउने बताए । फिल्म निर्माता तथा कलाकार सुनिल रावलले एकेडेमीबाट उत्पादन भएका राम्रा प्रतिभालाई आफुले सधैं प्रोत्साहन गर्ने जनाए ।

संस्थाका निर्देशक चन्दका अनुसार एकेडेमीमा फ्ली स्टाइल, स्टम्प स्टाइल, क्रम्पिङ, हिपहप, बीबोइङ, डबस्टेप, लकिङ एण्ड पपिङ, कन्टेम्पोररी, साल्सा र नेपाली लोक संगीतसहित विभिन्न फ्लेबरका नृत्यको प्रशिक्षण दिइनेछ । ‘नाँच्ने कलालाई संगठित रुपमा विकास गर्न सकिन्छ भन्ने उद्देश्यले संस्था स्थापना गरेर नेपालमा शाखा विस्तार गरेका हौं ।’ चन्दले भने । उनले एकेडेमीमा एरोबिक र बडी फ्लेक्जीबिलिटी सम्बन्धी पनि प्रशिक्षण दिइने जानकारी गराए । एकेडेमीमा शिओन श्रेष्ठले नृत्य सम्बन्धी प्रशिक्षण दिनेछन् ।

SUBSCRIBE 👉