जुम्ल्याहा सन्तानकी आमा बन्दै इन्दिरा जोशी, बेबी शावरका तस्बिर र भिडियो भाइरल

लोकप्रिय गायिका इन्दिरा जोशी ३९ वर्षको उमेरमा पहिलोपटक आमा बन्दै छिन्। हालै उनले बेबी शावर समारोहका तस्बिर र भिडियो सार्वजनिक गर्दै आफू जुम्ल्याहा सन्तानलाई स्वागत गर्न तयार रहेको खुलाएकी छन्।

Indira Joshi Reveals She Is Expecting Twins During Beautiful Baby Shower Celebration

लोकप्रिय गायिका इन्दिरा जोशी अहिले जीवनको सबैभन्दा विशेष क्षण अनुभव गरिरहेकी छन्। ३९ वर्षको उमेरमा पहिलोपटक आमा बन्न लागेकी इन्दिराले हालै सामाजिक सञ्जालमार्फत आफ्नो बेबी शावर समारोहका तस्बिर र भिडियो सार्वजनिक गरेकी छन्।

इन्स्टाग्राममा शेयर गरिएको भिडियोमा इन्दिरा निकै भावुक र खुसी देखिएकी छन्। उनले आफू र श्रीमान् शरद केडिया अब एक होइन, दुई सन्तानलाई स्वागत गर्ने तयारीमा रहेको खुलाएकी छन्। अर्थात् इन्दिरा जुम्ल्याहा बच्चाकी आमा बन्न लागेकी हुन्।

उनले पोस्टमा लेखेकी छन्, “मातृत्वको यात्रा शान्त, भावुक र धेरै व्यक्तिगत हुन्छ। मेरो यात्रा धैर्यता, कृतज्ञता र समर्पणले भरिएको छ। अब म र मेरा प्रिय श्रीमान् हाम्रो जीवनमा दुई साना आत्मालाई स्वागत गर्न तयार भइरहेका छौं।”

उनले परिवार, साथीभाइ र आफन्तबाट पाएको माया, साथ र आशीर्वादप्रति पनि आभार व्यक्त गरेकी छन्।

बेबी बम्प समातेर खिचिएका उनका तस्वीर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। कलाकारदेखि फ्यानसम्मले उनलाई शुभकामना दिइरहेका छन्।

इन्दिराले सन् २०२३ मा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी थिइन्। लामो प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिएको यो जोडी अहिले आफ्नो पहिलो सन्तानको प्रतीक्षामा छ।

‘उध्रेको चोली’ गीतबाट व्यापक चर्चा कमाएकी इन्दिरा नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हुन्। पछिल्लो समय उनी व्यक्तिगत जीवनका कारण पनि चर्चामा छिन्।


यो पनि पढ्नुहोस् : मुस्ताङमा अभिनेत्री तथा मोडल शिल्पा मास्केले कसिन लगन गाठों


SUBSCRIBE 👉